प्रदेश ५ मा भ्रमण वर्षको शुभारम्भ समारोह बर्दियामा, बाँकेमा जङ्गल सफारी उद्घाटन हुने


नेपालगञ्ज २५ मंसिर – प्रदेश ५ मा भ्रमण वर्ष २०२० को मुख्य उद्घाटन समारोह बाँके र बर्दियामा हुने भएको छ । मंगलवार बुटवलमा बसेको प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले बाँके र बर्दियाको पर्यटन प्रर्बधनलाई महत्व दिदै भ्रमण वर्षको प्रदेशस्तरीय मुख्य उद्घाटन कार्यक्रम यि जिल्लामा गर्ने निर्णय गरेको सचिवालय सदस्य कृष्ण चौधरीले बताए । उनका अनुसार, भ्रमण वर्ष सुरुवात हुने दिन जनवरी १ मा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा बर्दियाको ठाकुरद्धारामा बिहान ११ बजे शुभारम्भ कार्यक्रम गरिने छ ।

उक्त कार्यक्रममा प्रदेशमा मन्त्री, सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश सभाका सभापतिहरु, बर्दियाका सभाषद, प्रदेशका १२ जिल्लाका जिल्लास्थित पर्यटन प्रर्बधन समितिका संयोजक, स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा गर्ने निर्णय भएको छ । निर्णय भइसकेकाले अब मुख्यमन्त्री लगायत अन्य अतिथीलाई निमन्त्रणा पठाउने तयारी भएको सचिवालय सदस्य चौधरीले जानकारी दिए ।

उद्घाटन समारोहलाई भब्य बनाउनका लागि झाँकी प्रदर्शन गर्ने र सोको जिम्मेवारी बर्दिया पर्यटन प्रर्बधन समितिलाई दिइने छ । त्यस्तै होटल व्यवसायी, संघ÷संगठनसंग सहकार्य गरिने छ । उद्घाटन समारोहमा पन्चेबाजा,थारु नाच, मगर नाच,भोजपुरी, अवधि जस्ता नृत्य प्रदर्शन गरिने छ । जनवरी १ कै दिन बाँके राष्ट्रिय निकुञ्जमा बिहान ७ बजे जङ्गल सफारीको औपचारिक उद्घाटन गर्ने निर्णय भएको छ ।

प्रकाशित मितिः     २५ मंसिर २०७६, बुधबार ०८:०२  |