कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?



नेपालगञ्ज २५ मंसिर – विद्यालय जाने क्रममा गत आईतवार कोहलपुरमा बालिका प्रकृती चन्दलाई ट्रकले ठक्कर दियो । उक्त घटनापछि केही दिन कोहलपुरको परिस्थिती असामान्य बन्यो । घाइते बालिकाको काठमाण्डौमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । त्यहाँको घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसंगै सडक सुरक्षाका बिषयमा चासो र चिन्ता प्रकट भइरहेका छन् ।

यस्ता चासो र चिन्ताका बीचमा कोहलपुरमा भ्यू टावर बनाउने की आकाशे पुल ? भन्ने जस्ता बहस सतहमा देखिएका छन् । कोहलपुर नगरपालिकाले ठूलो धनराशी खर्चे शहरकै मुख्य ठाउँमा बचेको जग्गामा भ्यू टावर बनाउने योजना अघि सारेको छ । तर कयौंले उक्त योजनामा सरकारी पैसा खर्चनु भन्दा सडक सुरक्षा जस्ता प्रभावकारी काम गर्न सुझाव दिएका छन् ।

गत आईतवार प्रकृतीलाई ट्रकले ठक्कर दिएयता अन्य दुर्घटना पनि भए । शहरमा जनघनत्व बढेसंगै सडक सुरक्षा चुनौती बन्दै गइरहेका बेला आकाशे पुल जस्ता योजना अघि सार्नुपर्ने तक गरिएको छ । कोहलपुरका स्थानीय एवं हस्पिटालिटी क्षेत्रका अगुवा देव अर्याल भन्छन्,–
‘ कोहलपुर नगरपालिकाले जनताले तिरेको करबाट अनावश्यक ११ करोड खर्चगरेर न्युरोड गोलपार्कमा भ्युटावर बनाउनु भन्दा दिनहुँजसो दुर्घटना हुने न्युरोडचौक, एनटिभिरोड चौक,धिताल पम्प,साझाचौक,बिद्युत चौक र त्रिमाबि अगाडि पैदलयात्रिको लागि आकासे पुल बनाउन अति जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस ।’

कोहलपुरका साहित्यकार एवं सामाजिक अगुवा शंकर अशान्त पनि अर्यालको सुझावप्रति सहमत छन् । उनी भन्छन्,–‘ एउटै जोकले बारबार हँसाउन सकिन्न ! भ्यु टावरको थोरबहुत प्यास रोहिणीमै मेट्न सकिन्छ । हावाको तालमा भ्यु टावरको अहिल्यै आवश्यक्ता छैन । त्यै बुटवलमा दुई सय मिटरको फरकमा बनेका आकासे पुलले दिएको रौनक र सवारी सुरक्षा हेर्न हाम्रा आँखामा फुलो परेको त छैन गाँठे । अझै बिग्रेको छैन । होसमा आउनु पर्छ ।’

भेषराज पौडेलको बिचारमा भ्यू टावर जस्ता कामहरु विकासको मानक हुन भन्ने सोचाई कहिले अन्त्य होला भन्दै प्रश्न गर्छन् । पौडेल भन्छन्,–‘ भ्युटावरलाई नै बिकास भनेर किन अर्थ्याईन्छ कुन्नी ? भ्युटावरका उत्पादन के के हुन कुन कुन बिदेसी उत्पादनसंग प्रतिस्पर्धा गर्ने हो ?? अहिलेको आबस्यकता के ? भ्युटावर नै बिकासका आधार हुन भन्ने महानुभाबहरुबाट प्रष्ट पारी पाउन अनुरोध गर्दछु ।’ चन्डी गैरैले भ्यु टावरका विषयमा आफुले सार्वजनिक सुनुवाईमै कुरा उठाएको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा समेत आकाशे पुल बनाउने योजना अघि सारिएको छ । यहाँको जस्तै कोहलपुरमा पनि बढ्दो शहरीकरणले सवारीचाप अत्याधिक बढाएको छ । त्यस्तो अवस्थामा सडक सुरक्षाका लागि आकाशे पुल आवश्यकता महसुस गरिएको हो ।

प्रकाशित मितिः     २५ मंसिर २०७६, बुधबार १०:४३  |