कर्णाली चिनाउने ‘शुभाघाट’ मेला


तस्विर – बिजय शाह ठकुरी

गुर्भाकोट(सुर्खेत) २६ मंसिर -कर्णाली प्रदेश चिनाउने ‘शुभाघाट’ मेला भर्न आजैबाट दर्शनार्थीहरु आउन थालेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुना भेरी नदीको किनारमा यो मेला लाग्छ । पूर्णिमाका दिनदेखि सुरु हुने मेलामा दर्शनार्थीले नजिकै रहेको देउती बज्यैमा पूजापाठ गर्छन । सम्भवत कर्णाली प्रदेशकै ठुलो मेला मध्ये शुभाघाट पनि पर्छ । यसपछि सो क्षेत्रमा कुनै परम्परागत मेला नलाग्ने भएकाले अन्तिम मेला पनि भन्ने गरिन्छ । यसपटक मंसिर २६ बाट २९ गतेसम्म मेला लाग्दै छ । महोत्सवहरु भने लाग्दै आएका छन् ।

अन्तिम मेला भएकाले पनि स्वदेश र बिदेशमा रहेकाहरु मेला भर्न घर फर्किन्छन् । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनका अनुसार, टाडा–टाडा रहेका ईष्टमित्र र आफन्तको भेटघाट यही मेलालाई पायक पारिन्छ । उनी भन्छन्,–‘दशैं, तिहारमा जस्तै शुभाघाट मेलामा पनि आफन्तसंग भेटघाट हुन्छ । सुःख, दुःख बिसाउने चौतारी जस्तो बनेको छ, यो मेला ।’ वर्षौदेखि लाग्दै आएको मेलाको महत्व जतिजति फैलिदै छ, मेला भर्न आउनेको संख्या उत्तिकै बढ्दै गएको गुर्भाकोट निवासी सामाजिक क्षेत्रका अगुवा किरण ओली बताउँछन् । उनकै शब्दमा यो मेलाले थुप्रै कालो दिन पनि व्यहोरेको छ तर महत्व कहिल्यै कम भएको छैन् । यसअघि झुलुङ्गे पुल दुर्घटनाका बियोगान्त यथार्थ मेलाले देखेको छ ।

‘सुरुका केही वर्ष मेला भर्न आउनेहरूमा त्रास थियो,’ मेयर हस्तबहादुर पुनले भने, ‘अब धेरैले बिर्सन थालिसके । फेरि त्यस्तो दिन कहिल्यै नआओस् ।’ उनले छिमेकी जिल्ला सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया र दैलेखबाट मेला भर्न दर्शनार्थी आउने गरेको बताए । पूर्णिमाका बेला लाग्ने ऐतिहासिक मेला भएकाले यहाँ टाढा–टाढाबाट सर्वसाधारण आउने गर्दछन् ।  पूर्णिमाका दिनदेखि सुरु मेलामा दर्शनार्थीले नजिकै रहेको देउती बज्यैमा पूजापाठ गरेका थिए । ऐतिहासिक शुभाघाट मेला भर्न भारतीय व्यापारी पनि आउँछन् । हजारौं संख्यामा मेला भर्न आउने हुँदा उनीहरूले बिक्रीका लागि लत्ताकपडा, मिठाई, बदाम, खेलौनालगायत सामग्री ल्याउने गर्छन् । पाँच दिनसम्म चल्ने मेलामा स्थानीय आफूले उत्पादन गरेका फलफूल बिक्रीका लागि ल्याउने गर्छन् ।

विशेषगरी सल्यान र दैलेखबाट सुन्तला, बर्दिया–बाँकेबाट बदाम, मिठाई यहाँ आउने गर्दछ । र बास बस्ने तयारीका साथ परिवारका सबै सदस्यहरू मेलामा आउने गरेको छन् । देउती बज्यैसँग प्रार्थना गर्न आएका, आफन्त भेट्न, रमाइलो गर्न मेला आएकाहरूको झोलुंगे पुल भाँचिएर भेरीमा खसी मृत्यु भएको घटनालाई शुभाघाटवासीले कालो दिनका रूपमा स्मरण गर्ने गरेका छन् । पूर्णिमाको अघिल्लो दिनदेखि देउती बज्यै मन्दिरमा मेला शान्तिका लागि प्रार्थना गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार ०८:२२  |