उपमहानगरभित्रै २१ हजार निरक्षर !


news

बाँकेको कोहलपुर नगरपालिका, जानकी, खजुरा र राप्तीसोनारी गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिका सहित बैजनाथ, डुडुवा, नरैनापुर गाउँपालिका साक्षर घोषणा हुन सकेका छैनन् । प्रदेश ५ का चार उपमहानगर बुटवल, घोराही, तुल्सीपर साक्षर भएको अवस्थामा साक्षर घोषणा नहुने उपमहानगरमा नेपालगञ्ज एक्लो हो । उपमहानगरभित्र २१ हजारले अक्षर चिन्न नसक्ने अवस्थाले नेपालगञ्ज उपमहानगरलाई गिज्याइरहेको छ । जनतालाई अक्षर चिनाउने काममा जिल्लाकै गाउँपालिकाले समेत उछिनेको अवस्थामा नेपालगञ्ज उपमहानरले भने बल्ल त्यसको तयारी शुरु गरेको छ । आगामी पुस १५ गतेदेखि नगरमा साक्षरता अभियान शुरु गर्न लागिएका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् ।

शिक्षा प्रमुख थापाका अनुसार साक्षरता अभियान शुरु गर्नु अघि गत साउन महिनामा घरधुरी सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षण अनुसार, उपमहानगरमा २० हजार ९ सय ४० जना निरक्षर छन् । उनीहरुलाई आगामी पुस महिनाबाट साक्षर बनाउने अभियान शुरु हुँदै छ । कुन बिधिबाट साक्षरता अभियान सन्चालन गर्ने भन्ने बिषयमा वडा कार्यालयहरु आन्तरिक छलफलमा रहेको थापाले बताए । उनले घरधुरी सर्वेक्षण ढिलो भए पनि अभियान शुरु गर्न ढिलाई नभएको बताए ।

उनीहरुले साक्षरता कक्षा सन्चालन गर्ने बिधि चयन गरेपछि उपमहानगरपालिकाले पुस १५ गतेबाट संयुक्तरुपमा अभियान शुरु गर्ने छन् । यसका लागि रु १५ लाख बजेट बिनियोजन गरिएको छ । शिक्षा शाखा प्रमुख थापाका अनुसार उपमहानगरका २३ वटा वडा मध्ये अधिकाँश वडामा निश्चित मापदण्ड भन्दा बढि निरक्षरहरु रहेका छन् ।

साविक नेपालगञ्ज नगरपालिकाका वडामा भन्दा पछि थप भएका वडामा निरक्षरहरुको संख्या अधिक रहेको छ । कुनै पनि क्षेलार्य साक्षर घोषणाका लागि ९५ प्रतिशत साक्षर भएको हुनुपर्ने यूनेस्कोको मापदण्ड छ । शिक्षा शाखा प्रमुख थापाले नगर क्षेत्रभित्र निरक्षरहरुको संख्या बढि भएपछि अभियान संचालन गरि साक्षर बनाउन सकिने बताए । साक्षर बनाउनका लागि छिट्टै साक्षरता कक्षा पनि संचालन हुने भएको छ । चैतभित्र निरक्षरलाई साक्षर बनाई बैशाखमा साक्षर नेपालगञ्ज घोषणा गर्ने तयारी गरिएको छ ।

साक्षरता कार्यक्रम संचालनका लागि वडा कार्यालयलाई जिम्मेवार बनाइने तयारी उपमहानगरपालिकाको रहेको छ । उपमहानगरपालिकाले घरधुरी सर्भेक्षण गरि निरक्षरहरुको संख्या पहिचान गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले साक्षरता कार्यक्रमको सफलताका लागि वडा कार्यालय अझ जिम्मेवार भएर लागेको बताए । समुदाय बिशेषमा नपढ्ने प्रबृत्ती नेपालगञ्जलाई साक्षर बनाउने प्रमुख चुनौती रहेको थापा बताउँछन् ।  बुटवल टुडेबाट

प्रकाशित मितिः     २६ मंसिर २०७६, बिहीबार ०७:३३  |