गोदाम अभावले १२ हजार क्विन्टल धान खुला चौरमा,बर्षाले भिजायो


  • सिराज खान

नेपालगञ्ज, मङ्सिर २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयमा गोदाम अभावले गर्दा १२ हजार क्विन्टल भन्दा बढी धान खुला आकाशमुनि चौरमा राखिएको हुँदा बर्षाले भिजेको छ ।  सो कार्यालयमा गोदामको अभावले गर्दा कार्यालय प्रांगणको खुला चौरमा राखिएको १२ हजार भन्दा बढी क्विन्टल धान शुक्रवार विहान ६ बजेदेखि परिरहेको बर्षामा भिजिरहेको छ ।
सो कार्यालय परिसरमा रहेका २ वटा गोदाम मध्ये एकमा चामल र एकमा धान भरिएको हुँदा थप गोदाम नभएकोले बाध्यतावश १२ हजार क्विन्टल भन्दा बढी धान खुला चौरमा राख्नु परेको जनाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयका प्रमुख भरत खनियाले धानलाई चारैतिरबाट त्रिपालले ढाकेको हुँदा क्षति नभएको दावी गर्नु भयो ।

३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा कार्यालयले हालसम्म २४ हजार ४ सय क्विन्टल धान खरिद गरिसकेको जनाउँदै उहाँले त्यो मध्ये आधा धान गोदाममा राखिएको र आधा बाहिर चौरमा रहेको बताउनु भयो ।  उहाँले साईड र तलबाट केही पानी छिरेको भएपनि धेरै धान सुरक्षित रहेको बताउनु भएको छ ।  तर, धान विक्रिका लागि पालो कुरेर बसेका अधिकांश किसानहरुले खुला चौरमा राखिएको धानलाई बर्षा शुरु भैसकेपछि मात्र त्रिपालले ढाकिएको जनाउँदै धेरै धान भिजेर क्षति भएको जनाएका छन् ।  शुक्रवार विहान ६ बजेदेखि दिउँसो २ बजेसम्म ठुलो पानी परेको र निरन्तर बर्षा भैरहेकोले चौरमा पानी भरिंदा धेरै धान भिजेको त्यहाँ रहनु भएका बाँके कम्दीका किसान राधेश्याम वैश्यले बताउनु भयो ।

उहाँले धान खरिदमा ढिलाई भैरहेकै कारण आफु लगायत पचासौं अन्य किसानका धान पनि पानीमा भिजेको गुनासो गर्नु भयो ।  विगत केही बर्षदेखिनै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा गोदामको अभाव हुँदै आएको छ । गोदाम भरिएपछि हरेक बर्ष ठुलो परिमाणको धानलाई खुला चौरमा राख्ने गरिन्छ ।  सो बारेमा केन्द्रिय कार्यालयमा बर्सेनी जानकारी गराईंदै आएपनि नयाँ गोदाम बनाउने तिर कसैको पनि ध्यान नजाने गरेको उक्त कार्यालयका एक पुराना कर्मचारीले बताएका छन् ।
उनका अनुसार हरेक बर्ष धान खरिद गर्ने बेलामा पानी पर्दै आएको छ र बाहिर चौरमा राखिएको धान भिज्दै क्षति समेत हुँदै आएको छ तर, गोदाम थप्नेतर्फ कसैले ध्यान दिएको छैन ।  चौरमा रहेको धानलाई कुटानीका लागि नपठाएसम्म हटाउन नसकिने समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । तर, कुटानीका लागि भने टेण्डर ठेक्का लगायतका निर्णयहरु गरेर आवश्यक प्रक्रियाहरु पुरा गर्नु पर्ने हुँदा अझै केही समय लाग्ने सो कार्यालयले जनाएको छ ।
बजार मूल्य भन्दा बढी मूल्य पाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा धान बेच्ने किसान यस बर्ष सबैभन्दा बढी आएका छन् ।  राम्रो मूल्य पाएकै कारण सोचे भन्दा धेरै बढी किसान धान बिक्रि गर्न आएकोले छिटै लक्ष्य पुरा हुने प्रमुख खनियाले बताउनु भयो ।  ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर कात्तिक २७ गतेबाट धान खरिद शुरु गरिएको थियो ।

प्रकाशित मितिः     २८ मंसिर २०७६, शनिबार ०७:५०  |