नगर विकास समितिले बेच्ने न्यूरोडको जग्गाको मुल्य कति ? कसरी किन्ने ?


नेपालगञ्ज १ पुस – नेपालगञ्ज नगर विकास समितिको सोमबार बसेको बैठकले न्यूरोड सदरलाईनको जग्गा बिक्रिका लागि सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको छ । न्यूरोडको जग्गा नेपालगञ्जमा सबैभन्दा धेरै महङ्गो र आर्कषक जग्गा मध्येमा पर्छ । ब्यापार गर्न मात्र होइन बस्नका लागि समेत त्यहाँको जग्गा किन्न खोज्नेहरु धेरै छन् । किन्न चाहानेका लागि अहिले अवसर पनि छ ।

कुन जग्गा बिक्रीमा छ ? न्यूनतम मुल्य कति ?

न्यूरोड योजना बन्द तयार पारिएका प्लट अहिले विक्री गर्न लागिएको हो । बिभिन्न चरणमा जग्गा प्लटिङ्ग गरिएको थियो । तीनवटा प्लट विक्री गरिदैछ । न्यूरोडदेखि बागेश्वरी मन्दिर जाने भित्रीबाटोसंग जोडिएको १११ बर्ग मिटरको जग्गा विक्री हुँदैछ । यसको न्यूनतम मुल्य रु १ करोड १४ लाख ७३ हजार कायम गरिएको छ ।

अर्को जग्गा भनेको सेतोबिक चोकदेखि उत्तर क्षेत्रमा पर्छ । जहाँ १४४ वर्गमिटर छ भने यसको न्यूनतम मुल्य रु १ करोड ७१ लाख कायम गरिएको छ । त्यस्तै प्लट नं. ४१७ पनि विक्री हुँदैछ । त्यसलाई दुईवटा कित्ता बनाएको छ । ४१७ ए जो १७४.४४ बर्गमिटर छ , यसको न्यूनतम मुल्य २ करोड छ लाख कायम गरिएको छ । यही बराबरको अर्को कित्ताको क्षेत्रफल र मुल्य पनि सोही अनुसार कायम गरिएको छ । उक्त जग्गा कलपत्रु होटलदेखि उत्तर रहेको छ । न्यूरोड योजनाको यि तीन कित्ता अन्तिम जग्गा हुन । नगर विकास समितिले जिल्ला दररेट, चलनचल्ती र यसअघि विक्री गरेको जग्गाको मुल्यका आधारमा न्यूनतम मुल्य तोकेको हो ।

जग्गा किन्ने प्रक्रिया ?
सोमबारको बैठकले जग्गा विक्रीका लागि टेण्डर आह्वान गर्ने निर्णय गरिसकेको छ । अब कम्तिमा एक हप्ता वा त्यो भन्दा पनि छिटो तीस दिने म्याद सहितको सार्वजनिक सूचना जारी गर्ने तयारी छ । उक्त सूचना पत्रिकामा प्रकाशिन गरिन्छ । त्यसरी प्रकाशित सूचनाका आधारमा जग्गा किन्न इच्छुकले किन्न चाहेको प्लट नम्बर सहित निवेदन दिनुपर्छ । सोही निवेदनका आधारमा टेण्डर खरिद पाईन्छ । टेण्डरमा किन्न चाहेको जग्गाको प्लट उल्लेख गर्नुपर्छ भने नागरिकता जस्ता आवश्यक कागजात समावेश गर्नुपर्ने नियम छ । त्यसरी टेण्डर खरिद गर्दा गोप्यरुपमा किन्न चाहेको जग्गामा आफुले हाल्न सक्ने मुल्य र त्यसको निश्चित रकम धरौटीका रुपमा बुझाउनुपर्ने कर्मचारीहरु बताउँछन् ।

टेण्डर बुझाउने म्याद तीस दिनको हुन्छ । म्याद सकिए पछि नियम अनुसार गोप्यरुपमा टेण्डर खोलिन्छ । गोप्यरुपमा जसले सबैभन्दा बढि रकम कबोल गरेको हुन्छ उसैले जग्गा किन्न पाउँछ । टेण्डरमा नगर विकास समितिले कायम गरेको न्यूनतम मुल्य भन्दा घट्नु हुँदैन । त्यस्तो टेण्डर स्वीकृत पनि हुँदैन । त्यसभन्दा माथि सबैभन्दा धेरे रकम जसले कबोल गर्छ, जग्गा उसैको हुन्छ । त्यसकारण जग्गाको न्यूनतम मुल्य एकिन भए पनि खरिद मुल्य कति भन्ने पछि मात्र थाहा हुन्छ ।

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार १६:००  |