पर्यटनमा नयाँ पुस्ता,नयाँ ‘आइडिया’


  • तीन युवा जो पर्यटन रणनीति बनाउन व्यस्त छन् 

नेपालगञ्ज ४ पुस – भ्रमण वर्ष २०२० आउन अब दश दिन बाँकी छ । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्षहरु आन्तरिक तयारीमा जुटेका छन् ।

यस्ता तयारीमा नियमित खटिने युवामा पर्छन केशव न्यौपाने, कृष्ण चौधरी र डा. ओमप्रकाश मिश्र ।

न्यौपाने र मिश्रले उच्च व्यवसायीक समूहका नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सक्रिय हुँदैन भन्ने मान्यतालाई तोडेका छन् । आफु प्रचारित हुने रुची नराखे पनि यि दुई युवाहरु भ्रमण वर्ष र त्यसका लागि बाँके जिल्लामा बन्ने पर्यटन रणनीति बनाउन निरन्तर खटिएका छन् ।

न्यौपाने देशकै प्रतिष्ठित हस्पिटालिटी समूह सिद्धार्थ बिजेनश ग्रुपका क्षेत्रीय प्रबन्धक हुन । मिश्र नेपालगञ्जस्थित कर्णाली विकास बैंकका सन्चालक सदस्य र महत्वकांक्षी परियोजना नेपालगञ्ज एक्वा फनपार्कका प्रबन्धक हुन ।

चिकित्सक रहेका मिश्रले आफ्ना बुवा पशुपति दयाल मिश्रकै पदचाप पछ्याउँदै व्यवसायमा हात हालेका छन् । भारतीयलाई समेत आर्कषित गरेर ठुलो लगानीमा फनपार्क खोल्नुपर्छ भन्ने सोंच डा. मिश्रकै हो ।

अहिले दुबै जना जिल्ला स्तरीय पर्यटन प्रर्बधन समितिका सचिवाय सदस्यका रुपमा पर्यटन सम्बन्धी काममा जुटिरहेका छन् ।

उक्त समितिले जनवरी १ मा भब्य कार्यक्रम गर्ने योजना बनाएको छ । भारतबाट २ हजार २० जना पर्यटन ल्याउन बनेको योजना न्यौपानले नै सुझाएका हुन ।

त्यति मात्र होइन यहाँका तारे होटलले भ्रमण वर्षमा भारतीय पर्यटकलाई लक्षित गरेर छुटको व्यवस्था समेत गरेका छन् । तारे होटलले गरेको यस्तो  निर्णय प्रक्रियामा न्यौपाने निरन्तर सक्रिय भए ।

जनवरी १ बाटै नेपालगञ्ज –पोखरा उडान हुने सम्भावना छ । त्यसलाई निरन्तर फ्लो गर्ने र सरोकारवाला निकायलाई झक्झक्याउन न्यौपानेको भूमिका महत्व रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेल बताउँछन् ।

उनी भन्छन्,–‘जिल्लाको उन्नती र प्रगतिका बिषयमा नयाँ पुस्ता सक्रिय हुनु राम्रो कुरा हो । उहाँहरुमा नयाँ आइडिया र नयाँ जोश, जागर छ ।’

तर न्यौपाने यस कुरालाई ‘जस’ लिने बिषय बनाउन चाहादैनन् । भन्छन्,–‘कुन व्यक्तिले के गर्यो भन्ने कुरा महत्वपुर्ण होइन । यो सबैको साझा मुद्दा हो ।’

न्यौपानेले ‘फ्रन्ट’मा जो देखिए पनि हस्पिटालिटी क्षेत्रका सबै अगुवाहरु आ–आफ्नो ठाउँबाट पर्यटन प्रर्बधनका लागि लागिपरेको बताउँछन् ।

मिश्रको बिचार पनि न्यौपानेको जस्तै छ । नयाँ पुस्ता सार्वजनिक सवालहरुमा अगाडी आउनुपर्ने उनी बताउँछन् । मिश्रले नै बाँकेका पर्यटकीयस्थलको पहिचान गरी भारतमा प्रचार प्रसारका लागि जानुपर्ने योजना सुझाएका हुन ।

मिश्र भन्छन्,–‘सीमाक्षेत्र नजिक भएकाले भारतीय पर्यटक हाम्रो प्रमुख आयस्रोत बन्न सक्छ ।’

पत्रकारिता हुँदै होमस्टे मार्फत पर्यटन क्षेत्रमा उदय भएका कृष्ण चौधरी प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सदस्य छन् । समग्र प्रदेशको पर्यटन रणनीति बनाउने बैठकहरु उनी निरन्तर सक्रिय छन् ।

चौधरीले नै बैजनाथ गाउँपालिकाको गाभर क्षेत्रलाई होमस्टेका रुपमा चिनाउन भूमिका खेलेका थिए । उनले पर्यटन प्रर्बधनमा निरन्तर खटिएका नदेखिएका थुप्रै पात्रहरु रहेको बताउँछन् ।

भन्छन्,–‘नयाँ पुस्ता पर्यटन उद्योगमा अग्रसर छन् । उहाँहरुलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार १०:५२  |