रामघाटको शिखर प्रोबेशन ब्राण्ड पाउने कर्णालीको पहिलो सहकारी बन्यो


गुर्भाकोट ( सुर्खेत) ४ पुस – भेरीगंगा नगरपालिका –११ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था प्रोबेशन ब्राण्ड पाउने कर्णाली प्रदेशको पहिलो सहकारी बनेको छ ।

वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा उक्त बौण्ड प्रदान गरिन्छ ।  देशभरबाट ३४ सहकारीले पाएका छन् ।

सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ वटा सूचकहरु मूल्यांकन गरेर गुणस्तर सुनिश्चितताको प्रोबेशन ब्राण्ड दिने गरेको छ ।

उक्त ब्राण्ड पाए पछि थप प्रोत्साहन मिलेको अध्यक्ष भुपेन्द्र सिंहले बताए । उनले सबैलाई धन्यवाद दिएका छन् ।

२०५७ सालमा स्थापना ६५ जना सदस्य सहित सानो पुँजीबाट शुरु भएको उक्त सहकारी यस क्षेत्रकै उत्कृष्ट मानिने पूर्व व्यवस्थापक गोपाल थापा बताउँछन् ।

उनका अनुसार, अहिले सहकारीको पुँजी २० करोड पुगेको छ भने ३८ सय बढि सदस्य छन् । उत्पादनमूलक उद्योगमा ऋण प्रवाह गर्दै आएको छ ।

प्रोबेशन ब्राण्ड प्राप्तिका लागि देशभरका दुई सय सहकारीहरु प्रकृयामा रहेकामा ४४ वटाले यस वर्ष प्रतिस्पर्धा गर्दा ३४ वटा सफल भएका नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले जानकारी दिए ।

भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम, संस्थाको जगेडा कोष कूल पुँजीको ५ प्रतिशतभन्दा बढी भएको, व्यवस्थापन खर्च कूल आम्दानीको ५ प्रतिशतभन्दा बढी नगर्ने, कूल पुँजीको १० प्रतिशत तरलता अनिवार्य भएको, एक वर्षभन्दा बढी भाखा नाघेको ऋणलाई शतप्रतिशत डुबन्त कोषमा राखेको लगायत ५१ वटा सूचकहरु पालना गरेका उत्कृष्ट सहकारीहरुले मात्रै यो ब्राण्ड पाउने नेफ्स्कुनका अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार १२:३५  |