‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग


नेपालगञ्ज ५ पुस – पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल भएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे ।

यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

हाटमा प्रयोग भएको उक्त बाटोलाई पर्यटन पदमार्ग बनाउने गरी ब्यूताउन खोजिएको बताउँछन्, खडकबार निवासी कोहलपुर नगरपालिका वडा नं. १३ का अध्यक्ष ओमप्रकाश वली । उनी उक्त मार्गका बारेमा परिचित छन् । ओली भन्छन्,–‘बाबु, बाजेका पालामा यो बाटो हाट आउन प्रयोग हुन्थ्यो । एकप्रकारले निकै चलेको बाटो । तर अहिले त्यस्तो छैन ।’

अध्यक्ष वली अब भने पहिले जस्तै बाटोलाई चमक दिने प्रयास भइरहेको बताउँछन् । गुर्भाकोट, सल्यानका स्थानीय तहले समेत उक्त सडकलाई जोड्न चासो दिइरहेका छन् ।

राजमार्ग भन्दा पनि पर्यटन पैदलमार्ग बनाउँदा बाँकेको पर्यटन प्रर्बधनमा यो बाटो कोशेढुङ्गा सावित हुने देखिन्छ । बाँके निकुञ्जमा पर्यटन मार्गको खोजि भइरहेको गाभर भ्याली होमस्टेका अगुवा कृष्ण चौधरी बताउँछन् । उनी भन्छन्,–‘पुराना मार्गलाई ब्यूताउन सके पर्यटन प्रर्बधनमा ठुलो सहयोग पुग्छ ।’

यो मार्गको शुरुववात खडकबारबाट भएर कर्णाली प्रदेशबाट जोडिन्छ । बाँकेको खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तर प्रदेश पर्यटन मार्ग निर्माणको लागी पहल गर्न तदर्थसमिति गठन भएको छ ।

बृहत भेलाले सुर्य ढकालको संयोजकत्वमा ३३ सदस्यी समिती गठन गरेको हो । समितिको सह सयोजक साबित्री पुन रहेकी छन भने सदस्यहरुमा कोहलपुर नगरपालिका वडान १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वली, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली, टेक बहादुर शाही, बलराम भट्टराई लगायत रहेका छन ।

संयोजक सुर्य ढकालका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेश नं. ५ का मुख्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए । त्यसै गरि दुबै प्रदेशका योजना आयोगका उपाध्यक्षहरुसँग भेट गरि पर्यटन मार्ग निर्माकालागी पहल गरिदिन आग्रह गर्ने योजना समेत रहेको ढकालले जानकारी दिए ।

उक्त सडक निर्माणकालागी बिगतमा २ पटकसम्म बजेट बिनियोजन हुँदा समेत काम अगाडी बढन नसक्दा अलपत्र अवस्थामा रहदै आएको छ । अध्यक्ष ढकालले पर्यटन मार्ग बनाउन सरोकारवालासंग निरन्तर छलफल भइरहेको बताउँछन् ।

प्रकाशित मितिः     ५ पुष २०७६, शनिबार १०:०९  |