महानगर बनाउन तात्तियो नेपालगञ्ज, कस्तो छ कोहलपुरको ‘मुड’ ?


नेपालगञ्ज ५ पुस – मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ मा तीन महानगरपालिका बनाउने योजना अगाडि सारेका छन् । प्रस्ताव गरिएका महानगर हुन–रुपन्देहीमा भैरहवा–बुटवल, दाङ्गमा तुलसीपुर–घोराही र बाँकेमा नेपालगञ्ज– कोहलपुर । सोही अवधारणाअनुसार नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको प्रमुख धवल शम्सेर राणाले बताए ।

महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तारलगायतका सम्भावनाबारे छलफल चलाइएको छ । महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि बजेट समेत छुट्याइएको थियो । अबको स्थानीय तहको निर्वाचनका बेला सम्ममा नेपालगन्ज उपमहानगर पालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ सक्ने योजना छ ।

नेपालगञ्जमा महानगरपालिका बनाउनका लागि यसरी उत्साहका औपचारिक तयारी शुरु भइसक्दा पनि कोहलपुर भने मौन जस्तै छ । औपचारिक छलफल भएका छैनन् । ‘चियागफ’मा भने नेपालगञ्जमा छाएको उत्साह भन्दा ठिक विपरित राय, सुझाव आउँछन् । अर्थात खासै उत्साह छैन । मुख्यगरी राजनीतिक क्षेत्रमा ।


अर्थपेज प्रतिनिधिले महानगरका बिषयमा कोहलपुरको ‘मुड’ जान्ने प्रयास गरेको छ । कोहलपुरका मेयर लुटबहादुर रावत, मुख्य दुई दल नेकपा र नेपाली काँग्रेसका नगर अध्यक्ष क्रमश : बसन्ती अधिकारी, बलराम शर्मा र निजी क्षेत्रको अगुवा संगठन कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीसंग उक्त विषयमा कुराकानी गरेका छौं ।

महानगर बनाउने बिषयमा कोहलपुरको तयारी कस्तो छ ? ‘हालसम्म औपचारिक तयारी केही छैन । साथी,भाईबीच अनौपचारिक छलफल भने हुन्छन् ।’–मेयर लुट बहादुर रावतले जवाफ दिए । यसमा उनको व्यक्तिगत राय बुझ्न खोज्यौ । तपाईको राय के हो ? जवाफमा रावत भन्छन्,–‘यति ठुलो विषयमा मेरो व्यक्तिगत रायको अर्थ होला र ? मैले भन्दैमा हुने कुरा पनि भएन फेरी ! सबैको राय,सुझाव बुझौला अनि भनौला ।’ मेयर रावतलाई हामीले अन्तिम प्रश्न सोध्यौ,–‘साच्चिकै महानगरका बिषयमा कोहलपुरका नागरिकको मुड के होला ? बुझ्नु भएको छ ?’ यो प्रश्नको जवाफ मेयरले कुटनीतिक तरिकाले दिदै भने,–‘अन्त कतै मिसिनु हुँदैन, बरु राप्तीसोनारीवारीका केही वडा, बैजनाथ लगायतका स्थानीय तह मिसाएर उपमहानगर बनाउनेतिर लाग्न पर्छ भनेर छलफल गरेको सुनेका छौं । नगरमा यस्तै कुरा सुनिन्छ ।’

मेयर रावतको कुटनीतिक जबाफबाट के स्पष्ट हुन्छ भने प्रस्तावित महानगरलाई लिएर कोहलपुर अन्यौलता छ । । महानगरमा जाने भन्दा बिकल्पको खोजि गरेर प्रशासनिक र राजनीतिक केन्द्रका रुपमा स्थापित गराउन तर्फ लाग्नुपर्छ भन्नेको कमी छैन । महानगरको खाका, नाम, केन्द्र जस्ता विषय स्पष्ट भइसकेका छैनन् । यस्तो अवस्थामा महानगर बन्दा कोहलपुरको उपस्थिती कस्तो हुने भन्ने चिन्ता र चासो प्रकट हुनु अस्वभाविक भने होइन । यि बिषय स्पष्ट भइसकेपछि कोहलपुरमा ठोस धारणा बन्दै गर्ला । तर तत्काल भने त्यहाँ महानगरको बिषय अन्यौलकै अवस्था छ ।

नेकपा कोहलपुर नगर समिति अध्यक्ष बसन्ती अधिकारीले यस्तै प्रतिक्रिया दिइन । ‘नेपालगञ्जसंग गाभिएर जाँदा कोहलपुरको अस्तित्व के हुने ? भन्ने कुरा धेरैको मुखबाट सुन्न पाइन्छ ।’– अधिकारी भन्छिन्,–‘अस्तित्व संकटमा पारेर जानु भन्दा बरु अरु बिकल्प खोज्ने की भन्ने जनमत छ ।’ अधिकारीले महानगरका विषयमा पार्टीगतरुपमा औपचारिक छलफल नभएको बताइन । महानगरका बिषयमा कोहलपुर नेपाली काँग्रेसको मत पनि नेकपाको भन्दा फरक छैन । नगर अध्यक्ष बलराम शर्माले त स्पष्ट शब्दमा महानगर बन्दा कोहलपुरको अस्तित्व संकटमा पर्ने बताए । उनले भने,–‘यहाँका अधिकांस जनताको राय यस्तै छ । महानगर होइन अरु बिकल्प खोज्नतिर लाग्छौ ।’

महानगरमा जादा अस्तित्व संकटका पर्छ की भन्ने चिन्ता र चासो कोहलपुरमा व्याप्त पाइन्छ । कोहलपुरको त्यो चिन्ता र चासो सम्बोधन गरी उनीहरुलाई बिश्वासमा लिनुपर्ने देखिन्छ । अहिलेबाटै कोहलपुरसंग हातेमालो गरेर अगाडी बढ्ने इच्छाशक्ति देखाउन जरुरी छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी महानगरलाई विकास र समृद्धिको मुद्दासंग जोड्नुपर्ने बताउँछन् । ।

‘महानगर बनाउने चर्चा चलेको छ । तर त्यसको स्पष्ट खाका आउन बाँकी छ । अहिले नै नकारात्मक कुरा नगरौ ।’ अध्यक्ष रावतले भने–‘ सबै कुरा प्रष्ट भएपछि साझा धारणा बनाउँला ।’ अध्यक्ष अधिकारीले महानगर बनाउँदा विकास हुन्छ भन्ने ग्यारेण्टी गर्नुपर्ने बताउँछन् । नत्र घोषणा गरिहाल्ने तर विकास केही नगर्ने हो भने अहिलेकै अवस्थामा छाड्न सुझाव दिन्छन्  । विकासका लागि महानगर आवशयक हो भने त्यसका लागि कोही पनि बाधक बन्न नहुने अधिकारीको भनाई छ  । नेपालगञ्ज र कोहलपुर आर्थिकरुपमा जोडिसकेको छ । एकिकृत अझ ठुलो शहर बन्ने प्रशस्त सम्भावना रहेकाले कयौ मुद्दा थाती राखेर महानगर बनाउने योजना सफल पार्नुपर्ने मत पनि बलियो छ । त्यसका लागि नेपालगन्ज वा कोहलपुर कसैले महानगरलाई राजनीतिक दाउपेचको बिषय बनाउन नहुने सुझाव दिन्छन् । दुबै शहरले हातेमालो गरेर अघि बढे देशकै शुन्दर शहर बन्ने निश्चित छ ।

प्रकाशित मितिः     ५ पुष २०७६, शनिबार १३:३६  |