भिसिटीएसमा आवद्ध नभएका ट्रक कारवाहीमा,समातिदा थाहै पाएनौ भन्छन चालक


नेपालगञ्ज ६ पुस – भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस) आवद्ध भएका ढुवानीका साधनलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले निगरानीमा राखेको छ । त्यस्ता आठ वटा ट्रकलाई असोजयता जरिवाना गरिएको छ । प्रति ट्रक २५ हजारका दरले जरिवाना तिराइएको छ । आगामी दिनमा पनि गल्ती दोहो¥याएर थप जरिवाना लाग्ने छ ।

सरकारले साउनदेखि भिसिटीएस लागु भएको थियो । तर व्यवसायीका समस्यालाई मध्यनजर गर्दै तीन महिनाको समय दिइएको थियो । उक्त समय सके पछि राजश्व अनुसन्धान कार्यालयले निगरानी बढाएको छ । सोही क्रममा मंसिरमा दुई र पुस महिनामा छ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
व्यवसायिक प्रयोजनको मालवस्तु एक स्थानबाट अर्को स्थानमा आन्तरिक ओसारपसार गर्ने आयातकर्ता, उद्योग (उत्पादक कम्पनी), वितरकले भिसिटीएसमा जानुपर्छ । राजस्व अनुसन्धान विभागले निः शुल्क रुपमा उपलब्ध गराएको अनलाइन प्रणालीमा ती कम्पनीहरु आवद्ध हुनुपर्छ ।

आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै मालवस्तु तथा ढुवानी साधनको विवरण वेवसाइटमा इन्ट्री गर्नुपर्छ । भन्सार विन्दुमा ट्रक नम्बर, चालकको नाम र प्रज्ञापनपत्र इन्ट्री भएपछि अन्तिम विन्दुमा आयातकर्ताले ट्रक पुगेको जानकारी वेवसाइटमै दाखिला गर्छ । उद्योग (उत्पादक कम्पनी) ले आफ्ना उत्पादन बिक्री गर्न ट्रकमा हालेपछि विभागले दिएको अनलाइन प्रणालीभित्र गएर ट्रक नम्बर, चालकको नाम र चलानी दाखिला गर्नुपर्छ ।

प्रकाशित मितिः     ७ पुष २०७६, सोमबार १२:२०  |