कोहलपुर ( बाँके) ७ पुस – बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष १ सय ६० जनाले टिकट काटेर निकुञ्ज अवलोकन गरे । त्यसमा जम्मा दुई जना मात्र बिदेशी थिए । अरु जम्मै नेपाली । पूर्वाधारले सुविधा सम्पन्न र वन्यजन्तुले भरिएको निकुञ्जमा पर्यटकको आगमन किन भएन ?
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्,–‘यसको महत्व चिनाउन बाँकी रहेछ । नत्र यहाँ नआउनुपर्ने कुनै कारण छैन ।’ निकुञ्ज प्रशासन पर्यटक भित्रा्उन सरोकारवालासंग छलफलमा सक्रिय भएको छ । भट्टराईले निकुञ्जमा शुरु भएको जङ्गल, हात्ती सफारीले पर्यटकको ध्यान खिचिरहेको बताए । सोमवार पर्यापर्यटनका विषयमा कोहलपुरमा बृहद छलफल आयोजना गरियो । उक्त छलफलको मुख्य उदेश्य बाँके निकुञ्जमा पर्यटन कसरी भित्र्याउने भन्नेमा केन्द्रीत थियो ।
‘निकुञ्ज घुम्न लायक र वन्यजन्तु हेर्न लायक भइसक्यो ।’ सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा भन्छन्–‘अब जसरी हुन्छ पर्यटकको फ्लो बढाउनेतिर लागौ ।’ कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सांसद कृष्णा केसी नमुनाले बाँके निकुञ्ज देशकै पर्यापर्यटनको गन्तव्य बनाउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिएकी छन् । मानविय क्षती न्यूनीकरण गर्दै निकुञ्जलाई पर्यटनसंग जोडेर स्थानीयको आयआर्जन बृद्धि गर्न सघाउनुपर्ने प्रदेश सांसद नमुनाको तर्क थियो ।
नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ ।
यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ ।
जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समितिले बाँके निकुञ्जलाई जिल्लाको पर्यटन ब्राण्ड बनाउने गरी प्रसारप्रसार शुरु गर्दैछ । त्यसका लागि ब्रोसर समेत छाप्ने भइरहेको छ । अन्य पर्यटकिय पूर्वाधारले भन्दा निकुञ्जले धेरै पर्यटक तान्ने अपेक्षा गरिएको छ ।
पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?
भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !