विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई


नेपालगञ्ज ११ पुस – पूर्व मन्त्री एवं बाँकेका प्रतिनिधिसभाका सांसद मोहमद ईस्तियाक राईले बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न संबैधानिकरुपमा कठिन काम भएको बताएका छन् ।  प्रदेश हेरफेरका लागि संविधान संशोधन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यो तत्काल असम्भव प्राय भएको थाहा पाउँदा पाउँदै जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उनले चेतावनी समेत दिएका छन् ।

‘संविधान संशोधन गर्न नमाने पछि हामीले भर्खरै सरकार छाडेका छाडेका छौं । जति गर्दा पनि संविधान संशोधनको वातावरण बनेनन् । यस्तो अवस्थामा केही अहिले बाँके र बर्दियालाई कर्णालीमा मिसाउँछौ भन्दै जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेका छन् । त्यस्ता कुरा गर्नेले प्रदेश हेरफेरको संवैधानिक व्यवस्था के छ ? त्यसको हेक्का राख्नु पर्दैन ?’ पूर्व मन्त्री राईले  नेपालगञ्ज महोत्सवको शुक्रवार उद्घाटन गर्दै प्रश्न गरे ।

आफु कर्णाली प्रदेशको बिरोधी नभएको बताउँदै राईले भने,–‘म कर्णालीको बिरोधी होइन । त्यहाका जनताप्रति हाम्रो माया,प्रेम छ  तर अहिले सम्भव नै नहुने कुरा उठाएर जनतालाई सताउने काम गरे त्यसको बिरोध गरिन्छ ।’ राईले राजाको शासनकालमा बाँके भर्सेज सुर्खेत बनाएर दुवै क्षेत्रका जनताबीच फाटो ल्याउनेहरुले आन्दोलनको रहर गरिरहेको आरोप लगाए । पूर्व मन्त्री राईले भने,–‘हिजो संघीताको बिरोध गर्नेले अहिले प्रदेश हेरफेरको कुरा गरेको सुहाउँदैन ।’

संविधान संशोधनका लागि सामान्य तागतले सम्भव नहुने बताउँदै राईले त्यसका लागि सहयात्रा गर्ने भए साथ दिने बताए । ‘हामीले संविधान संशोधन गरौ भन्दा बिरोध गर्ने अनि अहिले प्रदेश हेरफेरको कुरा उठाउने ?’– राईले भने,–‘संविधान संशोधनमा एकमत हो भनेर मिलेर संघर्ष गरौ । त्यसपछि के गर्ने गरौला ।’ पूर्व मन्त्री राईले विकासको मुद्दा भड्काउन कर्णाली समायोजनको कुरा उठाएको बताउँदै त्यसप्रति सचेत रहन आह्वान गरेका छन् ।

‘विकास गर्ने बेला आन्दोलन गर्ने कुरा कसैले पत्याउँदैन ।’ राईले भने –‘अब विकास हुन्छ, त्यसलाई भड्काउन बेमौसमको बाजा बजाउन बन्द गरौ ।’ मन्त्री राईले बुटवललाई प्रदेशको राजधानी कुनै हालतमा स्वीकार नगर्ने प्रष्ट पार्दै भने,–‘प्रदेशको राजधानीका लागि बाँके पहिलो बिकल्प, होइन भने उपयुक्त ठाउँमा स्वीकार गरिन्छ ।’ मन्त्री राईले आफु मन्त्री नरहे पनि सांसदका रुपमा विकासका मुद्दामा दत्तचित्त भएर लाग्ने बताएका छन् ।

प्रकाशित मितिः     4:10:13 PM  |