चिसोमा जहाज चढ्ने बढे, नेपालगञ्ज विमानस्थल व्यस्त


नेपालगञ्ज १३ पुस -नेपालगञ्ज विमास्थलमा यतिबेला यात्रुको चाप थामिनसक्नु छ । चिसोका कारण जहाज चढ्ने बढेकाले विमानस्थलमा चाप बढेको हो । दशै,तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० फ्लाइट (मुभमेन्ट सहित) भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, दैनिक हजाई जहाज चढ्ेर आवत–जावत गर्ने यात्रुको संख्या १२ सयदेखि १५ सयसम्म पुग्छ । यो संख्या विगतको वर्ष भन्दा बढि हो । चिसोका कारण सडक यातायात भन्दा हवाई जहाज रोज्ने बढेका हुन । चिसोको कष्ट र त्यसमा झन् टिकट सस्तो भए पछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए ।

‘अहिले तीन हजारदेखि चार हजारसम्म टिक पाइरहेको छ ।’ ठाकुरले भने–‘आयस्रोत बढेका कारण छिटो र सहजरुपमा गन्तव्यमा पुगिने जहाज प्रयोग गरिरहेका छन् ।’ ठाकुरका अनुसार, नेपालगञ्ज विमानस्थलमा दशैं, तिहार र मानसरोवरको सिजनमा अहिलेको भन्दा यात्रुको चाप धेरै हुन्छ ।

नेपालगञ्जबाट काठमाण्डौ आवातजावत गर्ने यात्रु मात्र धेरै छन् । पहाडी जिल्लामा जाने भन्दा बेसी झर्नेको संख्या बढि छ । नेपालगञ्ज होलिडेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसंगै जहाज प्रयोग गर्ने बढेको बताउँछन् । ‘नेपालगञ्ज–काठमाण्डौको एयरफेयर दश हजार हुँदा पनि मान्छेहरु प्लेन चढ्थे । अहिले त्यो भन्दा धेरै कम भएको छ ।’ सिग्देलले भने–‘जसका कारण सबैको पहुँचमा हवाई यात्रा पुग्यो ।’ सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने बताउँछन् ।

भ्रमण वर्षको आउन दुई दिन बाँकी भए पनि त्यसैका लगि पश्चिम आउने पर्यटकको संख्या भने कमै छ । नपालगञ्ज विमानस्थलमा आन्तरिक यात्रुले नै धानेको छ । नेपालगञ्ज विमानस्थल आन्तरिक उडान तर्फ धेरै व्यस्त हुने विमानस्थलका रुपमा रहेको छ । चिसोमा हवाई उडान अवरुद्ध हुने गरेको छ । तर यसपटक दुई दिन मात्र त्यस्तो समस्या आएको विमानस्थल प्रमुख ठाकुरले बताए ।

प्रकाशित मितिः     १४ पुष २०७६, सोमबार १४:०३  |