नेपालगञ्ज १४ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । समावेशी प्यानल र साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी प्यानलले उम्मेदवारी घोषणाको तयारी गरेका हुन ।
समावेशी प्यानलले भोलि बुधवार दिउँसो १ बजे सिद्धार्थ कटेज सुर्खेतरोडमा उम्मेदवार घोषणा सभा आयोजना गरेको संयोजक ईश्वर पोख्रेलले बताए । प्रजातान्त्रिक समूहले शुक्रवार होटल कलपत्रुमा दिउँसो तीन बजे उम्मेदवारी घोषणाको तयारी गरेको प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माले बताए ।
उम्मेदवारको सूची लगभग तयार भइसकेको छ । समावेशी प्यानलको नेतृत्व अब्दुल वाहिद मन्सुरी चुन्ना र साझा प्रजातान्त्रिक व्यवसायी प्यानलको नेतृत्व ललित रौनियारले गर्ने पक्कापक्की भएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उम्मेदवारी घोषणासंगै व्यवसायिक एजेण्डा समेत सार्वजनिक हुने छ ।