भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि


बाँकेको पर्यटन प्रर्वद्धनमा यहाँका जनप्रतिनिधि सक्रिय छन् । प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक,प्रदेश सांसकद कृष्णा केसी नमुना जिल्लामा हुने पर्यटनसंग जोडिएका बहस र छलफलमा निरन्तर सहभागि हुन्छन् । पूर्वाधार निर्माणको काममा सरोकारावाला निकायको ध्यानार्कषण गराउँछन् । जनप्रतिनिधिको सक्रियताले जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।

भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन बाँकेका जनप्रतिनिधि स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिन अघि सरे । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते उक्त निकुञ्ज स्थापना भएको हो ।

निकुञ्ज स्थापनाको झण्डै एक दशक पछि पर्यटन पूर्वाधार तयार भएको छ । ‘म सम्पूर्ण स्वदेशी र बिदेशी पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमणको निम्तो दिन्छु ।’ सांसद अथकले भने –‘यहाँको प्राकृतिले दिएको आनन्दको अनुभुती अन्त सायदै मिल्छ !’ सांसद अथकले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्न आह्वान गरे ।

‘जिल्लाकै आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्पत्ति निकुञ्ज हामीसंग छ । यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागौ ।’ सांसद अथकले भने–‘ हामीले हाम्रो ठाउँबाट जे जति गर्न सकिन्छ लागेका छौं । सरोकारवाला निकायका अगुवालाई पनि लाग्न प्रेरित गर्छु ।’ सांसद अथकले निकुञ्जलाई नजिकको तिर्थ हेला बनाउन नहुनेमा जोड दिदै त्यसको प्रचार प्रसारमा अधिक जोड दिनुपर्ने बताए । उनले निकुञ्ज जस्ता प्राकृतिक सम्पदालाई वेवास्ता गर्न नहुने उल्लेख गरे ।

प्रदेश सांसद कृष्णा केसी नमूनाले हवाई र सडक यातायातको सबैभन्दा भरपर्दो सुविधा भएको बाँके निकुञ्जलाई पर्यटक सहजै भित्रिन सक्ने बताईन । उनले भनिन्–‘तर हामीले त्यसका लागि अझै मेहेनत गर्न बाँकी छ । प्रदेश सरकारका तर्फबाट के गर्न सकिन्छ, म पहल गर्न तयार छु । अहिले हामी जे जस्ता काम गरिरहेका छौं, त्यसलाई निरन्तरता दिदै अगाडी बढौ ।’ प्रदेश सांसद उषा पुनले जङ्गल सफारी र हात्ती सफाईका लागि बाँके राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य बन्ने निश्चित भएको बताईन ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र कोहलपुर नगरपालिकाको कार्यबहाक मेयर सन्जु थारुले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्बधन गर्न स्थानीय तह हातेमालो गर्न तयार रहेको बताए । उनले स्थानीय जनताको आयस्तरको माध्यम निकुञ्जलाई बनाउने गरी काम गर्न सकिने स्पष्ट पारे । ‘पर्यटक यहाँसम्म कसरी ल्याउने भन्नेमा अब हाम्रो ध्याना जानुपर्छ ।’– उनीहरुको एकस्वर थियो ।

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार ०७:५३  |