होमस्टे सिकाउन तराईदेखि हिमालसम्म


नेपालगञ्ज १६ पुस – बैजनाथ गाउँपालिकाको गाभर देशका सय पर्यटकिय गन्तव्यको सूचिमा छ । बाँकेमा कहाँ घुम्न जाने ? जवाफमा सम्भवत अहिले गाभरकै नाम पहिलो नम्बरमा आउँछ । गाभर आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यका रुपमा स्थापित भइसकेको छ ।

एउटा गाउँलाई यसरी पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने श्रेय जान्छन् कृष्ण चौधरीलाई । नेपालगञ्जमा पत्रकारिता गर्दागर्दै चौधरी पर्यापर्यटनतिर लागे । गाभरको प्राकृतिक सौन्र्दयता र भर्खरै स्थापित हुँदै गएको बाँके निकुञ्जको महत्व बुझेरै हुनुपर्छ, चौधरीले केही वर्ष अघि गाभर भ्याली नाममा स्थानीलाई पर्यटन प्रर्बद्धनमा सक्रिय बनाए ।

आज गाभरमा दर्जनौ घरहरु होमस्टेका रुपमा छन् । थारु, मुगाली र बिभिन्न कला संस्कृतिको समिश्रण रहेको बस्तीका बासिन्दालाई होमस्टे मार्फत संगठित गर्दै उनीहरुलाई आयआर्जनमा जोडेका छन् । चौधरी आफ्नो होमस्टे मात्र चलाउँदैनन् अरुको होमस्टे सन्चालनका लागि पनि प्रेरित गर्छन् । जिल्ला हुँदै प्रदेशको पर्यटन गतिविधि कसरी अगाडी बढाउने भन्ने विषयमा बहस र छलफल चलाउँछन् ।

उनी अहिले प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिको सचिवालय सदस्य छन् । प्रदेशस्तरको पर्यटन सम्बन्धी कार्यक्रम बनाउन तल्लिन छन् । चौधरी बाँके र प्रदेश ५ मा मात्र होइन कर्णाली प्रदेशको सुर्खेतदेखि मुगुको बिकट गाउँबस्तीसम्म होमस्टे सिकाउन जान्छन् । होमस्टे एशोसिएशनका केन्द्रीय सचिव रहेका चौधरी हालै मात्र कयौ दिन पैदल हिडेर मुगुको एउटा गाउँमा होमस्टे कसरी चलाउने भनेर प्रशिक्षण दिएर आए ।

‘होमस्टे नेपाली जनताको आयस्तर बढाउने र पर्यटकिय गतिविधिलाई प्रोत्हासन गर्ने गतिलो माध्यम हो ।’ चौधरी भन्छन्–‘मैले त्यही बुझेर जतिसुकै झेलेर भएपनि अरु सिकाउन गइरहेको छु ।’ हरेक नेपाली समाजको आफ्नै सांस्कृतिक महत्व भएको बताउँदै त्यसैलाई उपयोग गरेर पर्यटन तान्न सकिने प्रशस्त सम्भावना रहेको बताउँछन् ।

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार ०७:३९  |