कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर : बिछ्याउने जिम्मा नेपाल टेलिकमलाई


काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका मध्यपहाडी लोकमार्गमा आगामी २ वर्षभित्र अप्टिकल फाइवर नेटवर्क विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । शुक्रवार भएको सम्झौताअनुसार आगामी २ वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्नेगरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यसअन्तर्गत रूकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्नेगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया समेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुनेछ । यी दुई प्रदेशमा यो आयोजना शुरूमा प्राधिकरणले स्मार्ट टेलिकमलाई दिएको थियो । तर, स्मार्टले काम अगाडि बढाउन नसकेपछि अहिले नेपाल टेलिकमलाई जिम्मा दिइएको हो ।

यी दुई प्रदेशमा यो आयोजना सम्पन्न गर्न प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट रू। ३ अर्ब ८१ लाख टेलिकमले उपलब्ध गराउनेछ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच १ महीनाभित्र यससम्बन्धी सम्झौता गर्नेगरी गत मंसिर १९ गते समझदारी भएको थियो । टेलिकमले हाल मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्बर १, २ र ३ मा समेत फाइबर नेटवर्क विस्तारको काम गरिरहेको छ ।

अप्टिकल फाइबर ब्याकबोन नेटवर्क आयोजना अन्तर्गत करीब २ हजार ४ सय किलोमीटरमा अन्डरग्राउन्ड, एडीएसएस फाइबर तथा विस्तार गर्ने लक्ष्य प्राधिकरणको छ । साथै, विभिन्न साइटमा डीडब्ल्यूडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिनेछ । मध्यपहाडी लोक मार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।

प्रकाशित मितिः     4:59:30 PM  |