नेपालगञ्ज २० पुस – उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा बनेको समावेशी प्यानलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । उम्मेदवार र मतदाताबीच मत माग्ने मात्र नभई उद्योगी, व्यवसायीका सुःख, दुःख साटासाट पनि हुने गरेको छ । मतदाताले ब्याजदरदेखि करका समस्यासम्म सुनाउने गरेका छन् ।
आईतवार समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार चुन्ना उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल, सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट खजुरारोड पुग्दा मतदाता व्यवसायी आफ्नै काममा व्यस्त थिए ।
उम्मेदवार आएको थाहा पाएपछि केहीबेर काम छाडे । उम्मेदवारलाई स्वागत गर्दै उद्योगी, व्यवसायीका पिरमर्का र समस्याका बारेमा कुराकानी भए । लामो समय उद्योग, व्यवसायका क्षेत्रमा क्रियाशिल हुँदै आएका समावेशी प्यानलका उम्मेदवारले उद्योगी, व्यवसायीका सुःख, दुःख ध्यान पूर्वक सुने । समावेशी प्यानलका अध्यक्ष उम्मेदवार चुन्ना लगायत अन्य उम्मेदवारले व्यवसायीका समस्या समाधानका लागि क्रियाशिल हुनेमा निश्चित हुन आग्रह गरे ।
‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गरे । ‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ । मसंगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरुलाई बराबर नजरले हेरिदिनु हुन अपील गर्छु ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने ।