व्यवसायीक एकताको सन्देश बोकेर समावेशी प्यानलका उम्मेदवार यसरी पुगे घर–घरमा


नेपालगञ्ज २२ पुस – उद्योगी, व्यवसायीको एकताको सन्देश बोकेर नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई उद्योगी, व्यवसायीको घर–घरमा पुगेको छ । उद्योगी, व्यवसायीको हकहितका विषय समेटेर केही दिनमा घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । घोषणापत्र सार्वजनिक हुन बाँकी रहे पनि अहिले उम्मेदवारले मतदातासंग व्यवसायिक हकहितको प्रतिवद्धता जनाइरहेका छन् ।

समावेशी प्यानलका उम्मेदवार मंगलवार त्रिवेणीमोड, त्रिभुवनचोक, पूर्वी लाइन, एकलैनी लगायतका क्षेत्रमा पुगेका थिए । बिगतमा समावेशी र साझा समावेशी प्यानलका रुपमा अलग–अलग प्यानल बनाएर निर्वाचनमा होमिने गरेका उद्योगी, व्यवसायी यतिबेला समावेशी प्यानल मार्फत एकजुट भएका छन् । यही प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।

अध्यक्ष पदका उम्मेदवार चुन्नाले व्यवसायीक हकहितका मुद्दालाई प्रभावकारीरुपमा उठाउनका लागि एकजुट भएर निर्वाचनमा एउटै प्यानल बनाएर अघि बढेको बताए । ‘व्यवसायीक हकहितको मुद्दा सहित हामी अगाडी बढेका छौं । घोषणा सभामै हामीले यो सन्देश दिइसकेका छौं । उद्योगी, व्यवसायीको पूर्ण समर्थन छ ।’– चुन्नाले भने ।

प्रकाशित मितिः     २२ पुष २०७६, मंगलवार २०:२०  |