नेपालगन्ज २७ पुस – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य उपचारका लागि आईतवार नेपालगञ्ज आएका शाहीले उद्योगी, व्यवसायीसंगको भेटघाटमा यस्तो बताएका हुन ।
मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा त्यहाँ सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे । उनले भने,–‘अझै पनि हामी त्यहाँ बृहद छलफल गरेर यो मुद्दालाई ब्यापक बनाउन चाहान्छौ । हामीमा कुनै समस्या छैन बरु तपाईहरु (बाँके र बर्दिया)ले दवाव सिर्जना गर्नुपर्यो ।’
प्रदेश ५ को नमिल्दो सिमांकनप्रति रुष्ट बाँके र बर्दियामा कर्णाली प्रदेशसंग समायोजन हुनुपर्ने आवाज उठेको छ । यद्यपी यि आवाज विवादमुक्त बन्न सकेको छैन । मधेस केन्द्रीत राजनीतिक शक्तिले कर्णालीमा जाने विषयलाई अस्वीकार गर्दै आएका छन् ।
मुख्यमन्त्री शाहीले सबै एकजुट भएर दवाव सिर्जना गर्न सके मात्र शिर्ष राजनीतिक नेतृत्वले यस बारेमा सोच्ने अवस्था आउने बताए । मुख्यमन्त्रीले कर्णाली र बाँके, बर्दियाको सम्बन्ध धेरै पुरानो भएकाले टुट्न नसक्ने बताउँदै भने,–‘हामी अलग हुन सक्दैनौ । अलग भएर सम्बृद्धि ल्याउन ल्यान सकिदैन ।’