औद्योगिक ग्रामको काम अघि बढाउन खजुरा गाउँपालिकाले ९२ लाख पायो


नेपालगञ्ज २९ पुस – औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको छ ।

उद्योग मन्त्री लेखराज भट्ट, राज्य मन्त्री मोतीलाल दूगड लगायत मन्त्रालययका बरिष्ठ अधिकारीको उपस्थितीमा काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी संचालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको थियोे ।

पहिलो चरणमा छनौट भएका ३२ वटा स्थानीय तह मध्ये बाँकेका गाउँपालिकामा खजुरा मात्र परेको छ ।

औद्योगिक ग्राम कार्यक्रमको समझदारीका लागि खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी काठमाण्डौमा गएका छन् ।

उक्त सम्झौता पछि खजुरामा खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने कक्षपतिले बताए । अर्थपेजसंगको कुराकानीमा कक्षपतिले भने,–‘यो रकम प्राप्त भएपछि डिपिआर लगायतको काम हुन्छ ।’

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’ मा गर्नुपर्ने सुझाव दिएका छन् । छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।

प्रकाशित मितिः     २९ पुष २०७६, मंगलवार १५:०३  |