नेपालगन्ज ५ माघ – असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट रु ३९ अर्ब रुपैया सहुलियतपूर्ण कर्जा वितरण भएको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सरकारले परिकल्पना गरेको समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नको निम्ति आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न र थप रोजगारीका अवसर सिर्जना गर्न सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम फलदायी हुने बताए ।
राष्ट्र बैंक प्रदेश नं. ५ सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईले सहुलियतपूर्ण कर्जा कार्यक्रमको कार्यान्वयनबाट कृषि तथा पशुपंक्षीजन्य व्यवसाय र रोजगारीको प्रवद्र्धन, स्वरोजगारको सिर्जना, उद्यमशीलताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्र बैंकले केही समय अघि प्रदेश ५ मा उक्त विषयमा अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा प्रदेश नं. ५ स्थित, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख विनोद घिमिरे, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेशकुमार मिश्र, नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्ज्वल कसजु, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रदेश प्रमुख रामराज उपाध्याय, नबिल बैंकका शाखा प्रमुख यज्ञप्रसाद शर्मा, कृषि विकास बैंकका प्रदेश निर्देशक चन्द्रसिं थापा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल लगायतले सहुलियतपूर्ण कर्जाको महत्वमाथि आ–आफ्नो धारणा राखेका थिए ।