नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने शहिद स्मारक कम्दीका शिक्षक बिरुद्ध मुद्दा


नेपालगन्ज १४ माघ – शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेका तत्कालीन शिक्षक उदयराज यादव बिरुद्ध झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मंगलवार बिशेष अदालत काठमाण्डौंमा मुद्दा दर्ता गरेको हो ।
अीख्तयारले शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी रुपमा कार्यरत प्राविमा द्वितीय श्रेणीका शिक्षक यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीउपर अनुसन्धान गरेको थियो ।

यादवले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतबाट हाईस्कुल उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०४१।०७।२६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी मिति २०७६।०९।२९ सम्म कार्यरत रहँदा सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त अख्तियारले सार्वजनिक गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएको हुँदा तत्कालीन शिक्षक यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मितिः     १४ माघ २०७६, मंगलवार २१:०१  |