नेपालगन्ज सहित पश्चिममा जम्मा ४.८ % औद्योगिक कर्जा प्रवाह


नेपालगन्ज १५ माघ – पश्चिम नेपालमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने औद्योगिक कर्जा बढ्न सकेको छैन ।

झण्डै ६० प्रतिशत औद्योगिक कर्जा राजधानीमा केन्द्रीत हुँदा नेपालगन्ज र धनगढी क्षेत्रमा भने जम्मा ४.८ प्रतिशत पनि पुग्न नसकेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा देशभर बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने औद्योगिक कर्जामा मध्ये जम्मा ३ प्रतिशत नेपालगन्ज क्षेत्र र १.८ प्रतिशत धनगढी क्षेत्रमा प्रवाह भएको छ ।

औद्योगिक कर्जामध्ये काठमाडांै क्षेत्रको अंश ५९.६ प्रतिशत, विराटनगर क्षेत्रको ११.२ प्रतिशत, जनकपुर क्षेत्रको २.० प्रतिशत, वीरगञ्ज क्षेत्रको ९.६ प्रतिशत, पोखरा क्षेत्रको ५.४ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको ७.३ प्रतिशत रहेको छ ।

गत वर्ष देशभर बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७.१ प्रतिशतले वृद्धि भई रु. १० खर्ब ४४ अर्ब ५६ करोड पुगेको छ ।

गत वर्ष यस्तो कर्जा २५.० प्रतिशतले बढेको थियो ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले बाँके, बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत र जुम्लालाई नेपालगन्ज क्षेत्र र कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, अघाम र दार्चुलालाई धनगढी क्षेत्र मानेर आर्थिक गतिविधि अध्ययन सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले हरेक वर्ष जस्तो सार्वजनिक गर्ने तथ्यांकमा औद्योगिक कर्जाको अवस्था नगन्य मात्रामा रहेको पुष्टि हुन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा पनि औद्योगिक कर्जा प्रवाहको अवस्था कमजोर थियो । गत आर्थिक वर्षमा त झनै कम भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४.०७५ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौं क्षेत्रको अंश ५८.९ प्रतिशत, विराटनगर क्षेत्रको अंश १०.५ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १०.० प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७.२ प्रतिशत, पोखरा क्षेत्रको अंश ६.२ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३.२ प्रतिशत, धनगढी क्षेत्रको अंश २.१ प्रतिशत र जनकपुर क्षेत्रको अंश १.८ प्रतिशत रहेको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहनेगरेकालेपनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंक तथा वित्तीय संस्थामा रहेको केन्द्रीकृत सोंच बदल्नुपर्ने बताउँछन् । ‘औद्योगिकरणको प्रशस्त सम्भावना भएको क्षेत्रमा औद्योगिक कर्जा बढ्न नसकेको देखिन्छ । यो राम्रो होइन ।’– श्रेष्ठले भने ।

नेपालगञ्ज क्षेत्रमा तोरीको तेल, गहुँको पिठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ ।

नेपालगन्ज क्षेत्रमा बाँके, बर्दिया, दाङ्गमा ठूला उद्योग छन् भने धनगढी क्षेत्रमा कैलाली, कन्चनपुर लगायतका क्षेत्रमा ठूला लगानीका उद्योग र धेरै औद्योगिक कर्जा प्रवाह हुँदै आएको छ ।

प्रकाशित मितिः     १५ माघ २०७६, बुधबार १४:२२  |