यसरी लगानीकर्ताको ध्यान खिच्दै छ प्रदेश ५, प्रमुख लगानी गन्तव्य बनाउने मुख्यमन्त्रीको योजना


नेपालगन्ज १७ माघ – प्रदेश ५ लाई नेपालकै प्रमुख लगानी गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्दैछ ।

लगानी सम्मेलनलाई भब्यतापूर्वक सफल बनाउन मुख्यमन्त्री शंकर पोख्रेल यतिवेला आफै सक्रियतापूर्वक लागेका छन् ।

मुख्यमन्त्री पोख्रेल देशका प्रतिष्ठित औद्योगिक समूहदेखि बैंकर्ससम्मको छलफलमा व्यस्त छन् ।

‘प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान र परिचालन गर्नका लागि लगानी सम्मेलन आयोजना हुँदै छ ।’ –मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने ।

केसीका अनुसार, मुख्यमन्त्रीले नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तरक्रिया गरिसकेका छन् ।

उक्त भेटघाटमा मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको मुख्यमन्त्रीको भनाई थियो ।

शुक्रवार नेपाल बैंकर्स संघको बैठकमा मुख्यमन्त्री पोख्रेल तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको समुपस्थितिमा प्रदेशले आयोजना गर्न लागेको “लगानी सम्मेलन” तथा विविध आर्थिक गतिविधिहरुका बारेमा छलफल गरियो ।

छलफलमा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा अवगत गराउनुका साथै प्रदेश नं ५ मा भएका विविध  लगानीका अवसरहरु तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराए ।

प्रदेश नं ५ आर्थिक, औद्योगिक, पर्यटकिय, कृषि, आदिमा प्रचुर सम्भावना बोकेको प्रदेश हुनाले यस प्रदेश मुलुकको आर्थिक हब समेत बन्न सक्ने सम्भावना भएको धारणा व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले प्रादेशिक स्तरमा बैंकिङ्ग  सेवा विस्तार गर्नको निमित्त नेपाल राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनहरुको बारेमा  जानकारी दिनुका साथै यस प्रकारको सम्मेलनले वित्तीय साक्षरता तथा बैकिङ्ग पहुँच बढाउन थप मद्दत  मिल्ने धारणा व्यक्त गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको  सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, नेपाल बैंकर्स संघमा आई सम्मेलनका बारेमा जानकारी दिनुभएकोमा मुख्यमन्त्रीलाई कृतज्ञता ज्ञापन गरे ।

प्रादेशिक हिसाबमा लगानी बढाउन तथा वित्तीय पहुँच विस्तार गर्नका निमित्त संघका  पदाधिकारीहरुले विभिन्न राय/सुझाबहरु पेश गर्नुका साथै प्रदेश सरकारको आर्थिक मन्त्रालय,  नेपाल राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघका प्रतिनिधिहरु सहितको एक कार्यदल गठन गरि अगाडि बढ्न उपयुक्त हुने धारणा समेत पेश गरे ।

उक्त बैठकमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीज्यूहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु लगायतको उपस्थिती थियो ।

मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाएको छ ।

जसमा सबै मन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन् ।

यस्तै बैठकले लगानी सम्मेलन व्यवस्थापन तथा सहजीकरण गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश योजना आयोगका सदस्यसमेत सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य सचिव रहेको व्यवस्थापन तथा सहजीकरण समिति गठन गरेको छ।

यस्तैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीको संयोजकत्वमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश स्तरीय निजी क्षेत्रका प्रतिनिधि सदस्य र प्रदेश योजना आयोगका सदस्य सदस्य सचिव रहने गरी परियोजना तयारी समिति गठन गरेको छ।

लगानी सम्मेलनको प्रचारप्रसार गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, पत्रकार महासंघका प्रदेश अध्यक्ष, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख र सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहेको प्रचार प्रसार समिति गठन गरेको चौधरीले बताए ।

प्रकाशित मितिः     4:59:33 PM  |