नेपालगन्जमा बद्लिदो किनमेल शैली, ‘हाट’देखि ‘सुपरमार्केट’सम्म


नेपालगन्ज १८ माघ – ‘हाट’ बाट शुरु भएको नेपालगन्जको किनमेल ‘टे«न्ड’ यतिबेला बद्लिएको छ । कुनै आधुनिक शहर जस्तै यहाँ पनि सुपरमार्केट सन्चालन हुन थालेका छन् भने उपभोक्ताहरु त्यस्ता ठाउँमा किनमेल गरिरहेका छन् ।

२०४० सालसम्म नेपालगन्जको बजारमा पहाडबाट हाट आउनेबाटै चलेको भन्दा फरक पर्दैन । यातायातको पहुँचसंगै हप्तौ हिडेर हाट आउने चलन हट्यो । मानिसहरु एकैदिनमा नेपालगन्ज आएर किनमेल गरी फर्किन थाले । यतिबेला एउटै ठाउँमा जस्तोसुकै सामान पनि किन्न पाइने सुपरमार्केट सन्चालन भइरहेका छन् ।

नेपालगन्जको धम्बोझीचोकमा राही मार्टले सुपरमार्केट शैलीमा आफ्नो ब्यापार शुरु गर्यो । सानो आकारमा भए पनि त्यसले नेपालगन्जको किनमेल टे«न्डलाई बद्ल्यो । नेपालगञ्जमा नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटको आगमनले त यहाँको किनमेल टे«न्डलाई पुरै परिवर्तन गर्दै छ ।

काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियान अन्तर्गत १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा सञ्चालनमा आउन लागेको हो । यसअघि रुपन्देहीको भैरहवामा १७औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीले आगामी फाल्गुन १६ गते नेपालगञ्जको सुर्खेत रोड, कारकाँदोमा १८औं शाखाको शुभारम्भ गरिने भाटभटेनी व्यवस्थापक विनोद भट्टराई बताउँछन् ।

फाल्गुण १६ गते सन्चालनमा आउन लागेको भाटभटेनी सुपरमार्केट ।

करिब ९५ प्रतिशत काम सकिएको छ । आगामी फागुन १६ गतेदेखि यस क्षेत्रमा हाम्रो सेवाको शुभारम्भ गर्नेछौं ।’ करिब एक लाख ४६ हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पति सहीत करीब १५० करोड लगानी रहेको जनायीएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । यससँगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आउनेछन् ।

स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको शुभ अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० नगद प्रतिशत छुट तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटका साथै निःशुल्क डेलिभरी समेत दिइने उनले बताए ।

पश्चिम नेपालको पूरानो व्यपारिक केन्द्र नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणका कार्य तिब्र रुपमा अघि बढेका छन् । पर्यटकीय गतिविधिहरु पनि बढ्दो छ । यसै क्रममा यहाँ पर्यटक स्तरका साना तथा ठूला होटलको संख्या उल्लेख्य बढेको छ । हालै काठमाण्डौं स्थित सोल्टी होटलले पनि तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ भने, चार तारे होटल सिद्धार्थ भ्यू केही वर्ष अगाडी बाटै सञ्चालनमा छ । त्यसैगरि कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजा पनि स्तरोन्नती गरेसँगै पाँचतारे भएको छ ।

धम्बोझीमा सन्चालनमा रहेको राही मार्ट ।

नेपालगञ्जमा उद्योग, कलकारखाना तथा पर्यटकीय होटलहरुको बिस्तारसँगै भाटभटेनी सुपरमार्केट पनि सञ्चालनमा आउन लागेकोमा विकसित शहरका रुपमा अगाडी बढेको महसुस भएको यहाँका स्थानीय व्यवसायीहरु बताउँछन् । गत मंसिर २६ गते भारतीय सिमा शहर भैरहवामा १७औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीलाई यहाँपनि सिमावर्ति बजारकै सामना गर्नुपर्नेछ । यस सन्दर्भमा सञ्चालक गुरुङ भन्छन् ,स्वदेशमा नै यूरोपिएन स्तरको सुपर मार्केटको सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो । यसै उद्देश्यलाई मध्यनजर गरी सिमावर्ति बजारमा जानै नपर्ने गरी शुपथ मूल्यमा हामी हाम्रो सेवा दिनेछौं ।’

देशभर ५० भन्दा बढी स्टोर स्थापना गर्ने र ५० हजारलाई रोजगार दिने अभियानका साथ अगाडि बढेको स्टोरको नेपालगञ्ज शाखामा करिब ४ सय बढी कर्मचारी रहने बताइएको छ । नेपालगञ्जमा यस स्टोरको सञ्चालन पश्चात् भारतीय ग्रहकहरुको समेत आगमन बढ्ने हुनेहुँदा यहाँको आन्तरिक तथा बाह्य पर्यटनमा समेत राम्रो टेवा पुग्ने स्थानिय उद्योगी ब्यवसायी तथा बुद्धिजिवीहरुको धारणा छ ।

प्रकाशित मितिः     १८ माघ २०७६, शनिबार ०९:०४  |