‘बैधानिक व्यापार गर्नेलाई सदैव सहयोग गर्न तयार छौं’– नेपालगन्ज भञ्सार प्रमुख निरौलाको लेख


  • शान्तिराम निरौला
    प्रमुख भन्सार अधिकृत
    नेपालगन्ज भन्सार कार्यालय

भन्सार भनेको कुनै एक देशबाट अर्को देशमा आवत जावत हुने मानिस र मालबस्तुहरुको नियमन गर्ने कानुनि अधिकार प्राप्त सरकारी निकाय हो ।

बैधानिक व्यपारको सहजिकरण, राष्ट्रिय स्वार्थको संरक्षण, आन्तरिक व्यापार व्यवसायको संरक्षण, राष्ट्रिय तथा सामाजिक सुरक्षा, वातावरणको संरक्षण, राजस्व संकलन, राजस्व चुहाट नियन्त्र लगायतका धेरै उद्देश्यहरुबाट भन्सार प्रसाशन संचालीत भएको हुन्छ । यसका उद्देश्यहरुबाटै भन्सार प्रसाशनका समस्या र चुनौतीहरु कति धेरै होलान भन्ने आँकलन गर्न सकिन्छ ।

विश्व भन्सार दिवसको यस बर्षको नाराले भन्सार प्रशासन मानव र ब्रमाण्डको दिगो भविश्य र सुरक्षका लागि सामाजिक, आर्थिक, स्वास्थ्य र बाताबारणीय आबश्यकताको सम्बोधलाई आफ्नो कार्यको मुटुको रुपमा अंगिकार गरी नागरिक र विश्वको उज्जल भविश्यको सृजना गर्न प्रण गर्दछ ।

भन्सार प्रशासनको विश्वव्यापि इतिहासलाई हेर्दा परापूर्वकाल देखि नै यो अस्तित्वमा थियो भन्न सकिन्छ । परापूर्वकालमा राजस्व मार्न हुँदैन राजस्व लाग्दछ भन्ने मनोविज्ञान थियो । त्यस समयमा मालबस्तुको सिमा वारी र पारी गर्दा स्वच्छाले भन्सार राजस्व तिर्ने प्रचलन थियो ।

नेपालको भन्सार प्रशासनको इतीहासलाई नियाल्दा वि.सं. ६४९ को शिवदेवको टिष्टुंगको अभिलेख र वि.सं. ६६४ को अंशुवर्माको चापागाँउँको अभिलेखबाट नेपालमा भन्सारको प्रमाणीत शुरुवात विक्रम संवतको सुरुवात सँगै भएको पाइन्छ ।

लिच्छवीकालमा नै नेपालको व्यापार भारत र तत्कालीन तिव्वतमा फैलिएको थियो कौटील्यका अनुसार भारतिय व्यापारीहरु नेपालमा उन र उनबाट बनेका कम्बलहरु खरिद गर्न नेपाल आउँथे भने नेपालका कम्वलहरु उच्च कोटीको भएको भनि उनको अर्थ शास्त्रमा उल्लेख गरेको पाईन्छ ।

केही बर्ष अगााडीसम्म नेपाल धान, चामल लगायतका खाद्यान्नहरु निर्यातक देश भएकोमा हाल नेपालको अर्थ तन्त्र नै आयतमुखि हुन पुगेको छ । उक्त समयमा नेपालका भन्सार कार्यालयहरु सिमानामा नभएर देश भित्र रहेको व्यहोरा बजार अड्डा त्रिपुरेश्वरमा रहेबाट प्रष्ट हुन्छ ।

जव सन १९५० मा भारतसँग व्यापारिक सन्धी भयो तव नेपालका भन्सार कार्यालयहरु सिमानामा स्थापना भएको देखिन्छ । सन १९५६ मा बजार अड्डाबाट भन्सार अफिसमा परीणत भएको नेपालको भन्सार प्रशासनले आफुलाई परिमार्जित र विकास गर्दै हाल आधुनिक स्वाचालीत भन्सार प्रशासनको रुपमा स्थापीत भएको छ ।

भन्सार महशुल निर्धारण प्रणाली आसिक्यूडा प्रणालीको अवलम्वन गरेको छ । हाल नेपालमा ३६ वटा मूल भन्सार र १३४ छोटी भन्सार रहेका छन भने लगभग १३०० भन्दा वढी कर्मचारीहरु कार्यरत रहेका छन र सोभन्दा बढी सुरक्षाकर्मीहरु रहेका छन । कूल राजस्वको लागभग ५० प्रतिशत राजस्व भन्सार प्रशासनले असुल उपर गर्नेगरेको छ ।

यस कार्यालयको राजस्व असुली लक्ष्य अनुरुप नभएको भएता पनि गतबर्षको तुलनामा (कारोबार) पैठारी लगभग १६ प्रतिशत र निकासी लगभग ६० प्रतिशत घटेको भएता पनि राजस्व असुली गत बर्षकै हाराहारीमा रहेको छ जुन सफलता याँहाँहरु सबैको सक्रिय सहभागिताबाट प्राप्त भएको निवेदन गर्दै यस कार्यमा सहयोगि भूमिका निर्वाह गर्ने व्यवसायी, भन्सार एजेन्ट तथा प्रतिनिधिहरु, सुरक्षा निकायका कर्मठ सुरक्षाकर्मी साथिहरु अन्य प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भूमिका निर्वाह गरि राजस्व चुहावट नियन्त्रमा सहभागि व्यक्ति तथा निकायहरुमा म आभार प्रकट गर्दै यस क्षेत्रमा संलग्न सबैको मूलभूत लक्ष्य तथा उद्देश्य कानुनको परिपालना मार्फत बैधानिक व्यापारको प्रबद्र्धन गर्ने र राजस्व असुली अभिबृद्धि गर्ने नै हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

सबैको प्रयास, सहयोग र सहभागिताबाट मात्र बैधानिक व्यापारको प्रबद्र्धन र राजस्व बृद्धीको लक्ष्य हाँसील गर्न सकिन्छ अन्यथा सम्भव नहुने व्यहोरा समेत निवेदन गर्न चाहन्छु ।

वि.सं. २०१३ सालमा स्थापना भएको यो भन्सारको भौतिक पूवाधारको कमी तथा ले-आउट नमिलेको कारणले धेरै प्रकारका समस्या र चुनौतिहरुको सामना गर्नुपरेको छ ।

विगत एक बर्ष देखि यसको पूर्वाधारमा सुधार गर्ने प्रयास स्वरुप प्रवेश र बाहिरिनको सुनिश्चितता, यार्ड ढलान गर्ने कार्य, सामान चेकजाँच गर्ने ट्रष्टको निर्माण, यात्रुशाखाको व्यवस्थापन, भन्सार यार्ड क्षेत्रका टहरा हटाउने कार्य, टेम्पोपार्क निर्माण (नेपागंज उ.म.न.पा र भन्सार कार्यालय), अटोमेशन प्रणालीमा गएको, बैंकबाट मात्र राजस्व संकलन गर्ने कार्य लगायतका कार्याहरु सम्पन्न भएका छन भने अन्य कार्यहरु अगाडी बढाई यो भन्सार कार्यालयलाई व्यवस्थित गर्र्ने प्रयास भई रहेका छन ।

आगामी भन्सार दिवशमा यो भन्सारको स्वरुप अर्कै हुने र धुवाँ धुलो भयो भनि निवेदन बोकेर विभिन्न ठाउँमा भौंतारींदै हिंडनु नपर्ने व्यहोरा निवेदन गर्न चाहन्छु ।

यस क्षेत्रका नागरिकहरुमा मेरो विनम्र अनुरोध राज्यप्रतिको आफ्नो दायीत्व र जिम्मेवारीको बोध गरौं, चोरिनिकासी पैठारी जस्ता जघन्य अपराध नगरौं नगराऔं तपालाई आबश्क पर्ने शिक्षा, स्वस्थ्य, आवास, बाटो, विजुली, शान्तिसुरक्षा लगायतका आधारभुत आवश्यकताको परीपूर्ति तपाईले तिरेको राजस्वबाट नै प्राप्त हुन्छ ।

चोरिनिकासी पैठारी जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई सजायको भागिदार बनाउँ भन्सार ऐनमा त्यस्तो सूचना दिने व्यक्तिलाई उक्त मालबस्तुबाट असुल भएको राजस्वको पन्ध्र प्रतिशत कमिसन वा पुरस्कार दिने व्यवस्था समेत गरेको छ ।

तपाईको नाम तथा सूचना अति गोप्य राखिने छन । भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा खबर गर्नुहुन अनुरोध छ । कानुनको परिपालना गरि बैधानिक व्यापार व्यवसाय गरौं त्यस्तो बैधानिक व्यापारलाई हर तरहको सहयोग गर्न भन्सार प्रशासन तयार छ ।

बैधानिक व्यापारलाई सहजिकरण गर्ने विश्वव्यपी नीति रहनाका साथै नेपाल सरकार लगायत राजस्व प्रशासनको नीति पनि सोही रहेको छ । कानुनले निकासी पैठारीकर्ताहरुलाई नै पहिलो भन्सार अधिकृत तोकेको हुँदा आफ्नो कानुनि जिम्मेवारी इमान्दारीका साथ पुरा गरौ ।

अन्त्यमा भन्सार भनेको विश्वले कुनै पनि देश, समाज, सभ्यता र विकासको बारेमा धारणा बनाउने पहिलो विन्दु हो । त्यसैले भन्सार सबै भन्दा चुस्त, दुरुस्त, प्रभाकारी र भौतिकरुपमा समेत आकर्षक हुनु पर्दछ । चोरी निकासी पैठारीको कार्यलाई अन्त्य गर्न याँहाहरुको सहयोग वीना सम्भब नभएको हुँदा कृपया सक्रियरुपमा सहकार्यको लागि पून : अनुरोध गर्दछु ।

प्रकाशित मितिः     12:37:11 PM  |