नेपालगन्ज २२ माघ – हात्तिपाईले रोगको निवारणका लागि बाँकेमा कडाई गरिने भएको छ । जिल्ला समन्वय समिति बाँकेले हात्तिपाइले बिरुद्धको औषधी नखानेको सेवा सुविधा रोक्ने चेतावनी दिएको छ ।
बुधवार बसेको जिल्ला समन्वय समितिको सभाले यस्तो निर्णय गरेको सदस्य चेतबहादुर घर्तीले बताए । जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा बसेको सभामा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।
उक्त सभाले हात्तिपाइले बिरुद्धको अभियानमा सक्रियतापूर्वक लाग्ने र औषधी नखानेको सुविधा रोक्ने निर्णय गरेको छ ।
यो वर्ष मात्रै बाँकेमा पौन दुई करोड हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रममा विनियोजन गरिएको छ ।
सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा एक पटक ६ वर्षसम्म दुई प्रकारका औषधि डीईसी र अल्बेन्डाजोल खुवाउँदै आएको छ । यो औषधी हालसम्म ६३ जिल्लाका १० करोडभन्दा बढीले सेवन गरिसकेका छन् ।