नेपालगन्ज २३ माघ – बाँकेका तारेदेखि मझौला होटलहरु पर्यटक आर्कषित गर्ने योजना बनाउँन जुटेका छन् । उनीहरुको मुख्य उदेश्य हस्पिटालिटी क्षेत्रमा कसरी सेवाग्राहीलाई आर्कषित गर्ने भन्नेमा केन्द्रीत रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।
‘प्रदेशको विभाजन पछि नेपालगन्जबाट सरकारी कार्यालय अन्यत्र सर्दा हाम्रो व्यवसायलाई कतै न कतै प्रभावित बनाएको छ ।’ कँडेलले भने–‘अब निरास भएर बस्ने होइन कसरी बजारलाई व्यस्त राख्न सकिन्छ भन्ने विषयमा रणनीति बनाउने काम भइरहेको छ ।’
बाँकेमा दुईवटा हस्पिटालिटी क्षेत्रमा ठूलो लगानी लागेको छ । बजारको खोजि नगर्ने हो भने लगानी डुब्न सक्ने सम्भावना पनि उत्तिकै छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले सेवाग्राही आर्कषित गर्न प्याकेज बिशेषका कार्यक्रम बनिरहेको बताउँछन् । उनी भन्छन्,–‘अब हामी नयाँ नयाँ प्याकेज बनाएर अगाडी बढ्न सक्नुपर्छ ।’
बिहिवार मात्र तारे होटलदेखि मध्यस्तरका होटलका सन्चालकहरुको आन्तरिक बैठकमा बजारको खोजिका विषयमा छलफल भएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए । ‘सेवाग्राही आर्कषित गर्न टुर प्याकेज बनाउनेदेखि नेपालगन्जमा फुडफेस्टिभल गर्नेसम्मका विषयमा छलफल भएको छ ।’– कँडेलले भने–‘इभेन्टमा आधारित कार्यक्रमलाई प्राथमिकता दिएर अगाडी बढ्छौ ।’