नेपालगन्ज २४ माघ -उपभोक्ताको स्वास्थ्यलाई गम्भीर असर पार्ने गरी नेपालगन्ज उपमहानगरपालिका भित्र जथाभावी मासु पसल सन्चालन भइरहेका छन् ।
एउटा अचानो र मासु काट्ने औजारको भरमा छ्याप्पछ्याप्ती मासु पसल खोल्दा समेत सरोकारवाला निकायले कुनै कारवाही गरेका छैनन् ।
उपभोक्ता हित संरक्षण मन्च बाँकेका सचिव प्रभात ठकुरीले मासु र दुधजन्य सामाग्रीको विक्री वितरणमा लापरवाही भएको बताउँछन् ।
‘सावधानी नअपनाएर विक्री वितरण गर्ने हो भने मासु र दुधजन्य सामाग्रीले अत्यन्त जटिल रोगको संक्रमण बढाउँछ ।’– ठकुरीले भने,–‘यस्तो संवेदनशिल विषयमा सजगता अपनाएको पाइदैन ।’
उपभोक्ताहरुका अनुसार, नेपालगन्ज नगरपालिका भित्र काटेको कुखुरा सफा गर्न फोहार पानीको प्रयोग गरिन्छ । ।
‘तल नाली बगिरहेको हुन्छ । त्यसको माथि मासु पसल छ । फोहोर पानीको प्रयोग गरेर काटेको कुखुरा धुनेसम्मको काम हुन्छ । राम्रोसंग अनुगमन गर्ने हो भने कस्ले त्यस्तो गर्छ पत्ता लाग्छ ।’– अधिकांस उपभोक्ता भन्छन् ।
गुणस्तरीय मासुको विक्री वितरण होस् भने सरकारले फ्रेस हाउसलाई अनुदान दिएर सहयोग गरिरहँदा न्यूनतम मापदण्ड समेत पुरा नगरी मासु तथा दुधजन्य पदार्थ विक्री वितरण गर्ने क्रम नरोकिएको ठकुरी बताउँछन् ।
मासु पसलमा काटिसकेको मासु छोप्न कुनै उपाय अपनाइदैन ।
वरीपरी झिंङ्गा र माखा भन्किरहेका हुन्छन् । त्यस्तो पसलबाट मासु किनेर लैजाने सेवाग्राहीको पनि कमी छैन् ।
मासु बेच्नेले त सचेतना अपनाएन ! किन्ने पनि सचेत भएको पाइदैन ।
‘सरकारले स्वस्थ्य मासुको प्रयोग बढोस् भनेर बिभिन्न सामाग्री अनुदान दिन्छ ।’ नेपालगन्जमा लामो समयदेखि कुखुराको मासु विक्री गर्दै आएका एक विक्रेता भन्छन्–‘अर्को तर्फ अचानोको भरमा जहाँ पायो त्यही मासु विक्री गर्दै हिड्नेलाई कानूनी दायरामा ल्याउन सकिरहेको छैन ।’
ती विक्रेताका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको मुख्य ठाउँदेखि भित्र टोलहरुमा त्यस्ता मासु पसल छ्यापछ्याप्ती खुलेका छन् । ‘प्रभावकारी अनुगमन गरोस् । कुन मासु पसल कस्तो अवस्थामा सन्चालन भइरहेका छन् भन्ने घाम झैं छर्लङ्ग हुन्छ ।’– ती विक्रेताले भने ।
सरकारी अनुदान पाएर होस् वा आफ्नै लगानीमा नेपालगन्जमा सुविधा सम्पन्न फ्रेस हाउस खुल्ने क्रम बढ्दै त छ तर अर्को तर्फ मापदण्ड विपरित खुलेका मासु पसल नियन्त्रण हुन सकिरहेको छैन ।
त्यस्ता मासु पसलले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै आएका छन् । कानुनी दायरामा नआउने भएकाले कर तिर्दैनन् । ‘ यस्ता मासु पसलले पूर्णरुपमा मापदण्ड पुरा गरेका र कर तिरिरहेका फ्रेस हाउसलाई घाटा पुर्याइरहेका छन् ।’– पुष्पलालचोकस्थित एक फ्रेस हाउसका सन्चालकले भने ।
उपभोक्ता हित संरक्षण मन्च बाँकेका सचिव प्रभात ठकुरीले स्वास्थ्यमा खेलवाड गर्ने मासु विक्रेता माथि कारवाही हुनुपर्ने बताउँछन् । ‘निरन्तर अनुगमन गरी त्यस्ता मासु पसललाई कारवाही गर्न माग गर्छु । सरोकारवाला निकायको ध्यानार्कषण होस् ।’– ठकुरीले भने ।