नेपालगन्जलाई ‘सुटिङ्ग स्पट’ का रुपमा विकास गर्ने उपमहानगरको योजना


नेपालगन्ज २५ माघ – नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको संचार नीतिको मस्यौतामा नेपालगन्ज शहरलाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरको चलचित्र छायांकनस्थलका रुपमा विकास गर्ने दिर्घकालिन योजना बनाइएको छ ।

उपमेयर उमा थापामगरका अनुसार, संचार नीतिमा चलचित्र पर्यटनलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा साथ समेटिएको छ ।

‘नगरका पर्यटकीय स्थानको विकास र प्रवद्र्धन गरी राष्ट्रिय एवं अन्र्तराष्ट्रिय चलचित्र छायांकनस्थलको रुपमा विकास गर्न चलचित्र पर्यटनलाई प्रोत्साहन गरिने छ ।’– उपमेयर थापाले भनिन् ।

संचार नीतिको मस्यौदामा नगरको मौलिक भाषा, धर्म, संस्कृति, ऐतिहासिकता लगायतको पहिचान प्रवद्र्धन गर्ने खालको चलचित्र निर्माणलाई बिशेष सुविधा तथा सहुलियत उपलब्ध गराइने उल्लेख छ ।

उपमहानगरको योजना स्वागत योग्य भएको नेपालगन्जमा रहेर चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकारहरु बताउँछन् । ‘नेपालगन्जमा स्थानीयदेखि थुप्रै राष्ट्रिय चलचित्र छायांकन भइसकेका छन् ।

सुटिङ्गस्थलका रुपमा विकास गर्ने हो भने आगामी दिनमा अझ राम्रो हुन्छ ।’– अभिनेता बिरेन्द्र यादव भन्छन् ।

अर्का अभिनेता जियानुल हक जिनुले नेपालगन्जलाई चलचित्र छायांकनका लागि गज्जवको ‘लोकेशन’ भएको शहरका रुपमा चित्रण गर्छन । उनी भन्छन्,–‘तपाईलाई शहर वा गाउँ कुन लोकेशन चाहिन्छ यहाँ सबै उपलब्ध हुन्छ ।’

‘द बुक अफ’ मुनियाका मुख्य कलाकार समेत रहेका पत्रकार भिष्म लोध स्थानीय चलचित्रलाई प्रोत्साहन गर्ने उपमहानगरको नीति स्वागतयोग्य भएको बताउँछन् । उनी भन्छन्,–‘यो कुरा कार्यान्वयन भए नेपालगन्ज चलचित्र क्षेत्रमा पनि अगाडी बढ्ने निश्चित छ ।’

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार १२:०४  |