वीमाको पहुँच बढाउन पालिकासंग सहकार्य,प्रक्रिया सरल बनाउन जनप्रतिनिधिको सुझाव


नेपालगन्ज २६ माघ – वीमा समितिले स्थानीय तहसँग वीमाको पहुँच पु¥याउन आफ्नो क्रियाशीलता बढाएको छ ।

समितिले आइतवार नेपालगन्जमा स्थानीय तहसँग वीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै उनीहरुसंग वीमाको पहुँच बढाउने कार्यमा सहयोग गर्न आग्रह गरे ।

पछिल्लो दुई बर्षदेखि समितिले आफ्नो पहुँच ग्रामीण क्षेत्रमा पु¥याउन स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको जनाएको छ ।

वीमा प्रचार प्रसार कार्यलाई ग्रामीण क्षेत्रसम्म पु¥याउन समितिले विगत दुई बर्षदेखि स्थानीय तहका निर्वाचित पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिए ।

त्यसैगरी समितिले विभिन्न स्थानका सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीहरुसँग वीमा समिति कार्यक्रम समेत गर्दै आएको अध्यक्ष चापागाईले जानकारी दिए ।

आगामी दिनमा वीमा शिक्षालाई विद्यालय र विश्वविद्यालय तहमा समावेश गर्ने कार्यलाई प्राथमिकता दिईएको उहाँको भनाइ छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा वीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेलले हालसम्म १९ प्रतिशत मानिसहरु वीमाको पहुँचमा रहेको जानकारी गराए ।

जोखिम रक्षावरण गर्नका लागि वीमा गर्ने व्यक्ति र संख्या बढ्दै गएको पौडेलको भनाइ छ । देशको कुल ग्राहयस्थ उत्पादनमा वीमाले ३ प्रतिशत योगदान दिएको पनि समितिले दावी गरेको छ ।

उक्त अन्तरक्रियामा वीमाको दायरा बृद्धि गर्ने उपाय, जीवन वीमा, कृषि वीमा, लघु वीमा, सम्पति तथा घर वीमाबारे जानकारी दिइएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमालले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा, उपमेयर उमा थापामगर, वीमा विज्ञ भोजराज शर्मालगायतले वीमाको महत्व र आवश्यकताबारे जानकारी गराउनुभएको थियो । मेयर, उपमेयर लगायतका जनप्रतिनिधिले कागजात सरलिकरण गर्न आग्रह गरेका छन् ।

प्रकाशित मितिः     २६ माघ २०७६, आईतवार १७:३४  |