भ्रमण वर्षको प्रभाव : बाँके निकुञ्ज अवलोकन गर्ने बढे


बाँके २७ माघ — बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको उत्साजनक चासो दिएका छन् । साउनयता सत्तरी बढि आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्ज अवलोकन र हात्ती सफारी गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम शर्माले बताए ।

‘अन्य निकुञ्ज भन्दा यो संख्या कम हो । तर हाम्रो लागि निकै उत्साहजनक संख्या हो ।’–शर्माले भने,‘बिगतका बर्ष भन्दा निकुञ्ज अवलोकनमा आउने पर्यटक बढेका छन् ।’

भ्रमण वर्ष उद्घाटनले बाँके निकुन्जलाई सबैभन्दा बढि फाईदा पुर्याएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतले सफारी गरेपछि निकुञ्ज सबै ठाउँमा चिनियो । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।

स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन ।

यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किने गरेको उनले सुनाए । ‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदै छ’, निकुञ्जका प्रमुख प्रमोद भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाएका छन ।’

पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्था छ ।

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य हो । चुरे क्षेत्रमा हाइकिङ गर्न सकिने हुँदा पर्यटकको रोजाइँ हुन थालेको गाभर भ्याली सामुदायिक होमस्टेका प्रमुख कृष्ण चौधरीले बताए ।

‘यहाँ ससाना चुरे छन’, उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’ आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्वव बढ्दै गएको उनको अनुभव छ ।

निकुञ्ज वरिपरि ३ वटा निजी थारू होमस्टे र १७ वटा घर भएका सामुदायिक होमस्टे सञ्चालित रहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा बिमानस्थल र सुविधा सम्पन्न तारे होटल यहाँ स्थापना भएका छन् ।

प्रकाशित मितिः     २७ माघ २०७६, सोमबार १७:२२  |