प्रदेश राजधानी बनेपछि सुर्खेतको हस्पिटालिटी क्षेत्र फस्टाउँदै


सुर्खेत २९ माघ -सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दै गएको छ ।  व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यावसायी डराउने गरेकोमा जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानीले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको हो ।

स्थलमार्ग हुँदै माथिल्लो कर्णाली जाने यात्रुहरु बढ्नु र सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले आफूहरु उत्साही भएका होटल व्यावसायीहरुले बताएका छन् ।

सुर्खेत, प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइर्भसन, मध्यपहाडी तथा मदन भण्डारी राजमार्गजस्ता ठूला आयोजनाको निर्माणले यहाँ सुविधा सम्पन्न होटल खुल्ने अवस्था सिर्जना भएको व्यावसायीहरुको भनाइ छ ।

होटल व्यावसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सिर्जना भएको बताए ।

‘कर्णालीमा पर्यटकीय पूर्वाधारको विकास, सडकको पहुँच विस्तार हुँदै जानुले यहाँ पर्यटकको चहलपहल बढ्दै गएको छ’, उनले भने, ‘मुख्यतः हाम्रो होटल व्यवसायमा लगानी बढ्नु प्रादेशिक संरचनाकै उपज हो, त्यसपछि पर्यटकीय चहलपहल पनि हो ।’

सुर्खेतकै बाटो भएर प्रदेशका अन्य ९ जिल्ला जानु पर्दछ । त्यसकारणले पनि यहाँ पर्यटकलाई लक्षित गरेर होटल खुल्ने क्रम बढेको हो ।

ठूलो संख्यामा हिन्दु, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेख लगायत जिल्लाका पर्यटकीय स्थलहरु घुम्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर यहाँ ठूलो लगानीमा होटल खुल्ने क्रम बढेको व्यावसायीहरु बताउँछन् । सुर्खेतको वीरेन्द्रनगरमा सिद्धार्थ र शुभ दुई ठूला होटल हुन् ।

सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीले आफ्नो १२ औं शाखाका रुपमा विसं २०७२ वैशाखदेखि सुर्खेतबाट सेवा शुरु गरेको हो । शुरुमा रू।१६ करोडको लगानी रहेको मूलपानीस्थित तत्कालिन शनी रिसोर्टमा रू। ५ करोड लगानी थप गरेर रू।२१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सुचारु गरेको हो ।

यसैगरी विसं २०७३ चैत मसान्तबाट रू.२७ करोडको लगानीमा जुम्ला रोडमा शुभ होटल सञ्चालनमा आयो । शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले रारा र कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर ६० ओटा डिलक्स रुम, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाहमण्डप, लिफ्टलगायतका सुविधासहित अपाङ्गमैत्री संरचना निर्माण गरेको बताए ।

सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थान हो, जहाँबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सिद्धपाइलामा विसं २०७४ माघदेखि रू.६ करोड बढीको लागतमा होटल स्टे भ्यालीभ्यू सञ्चालनमा आयो ।

कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर वीरेन्द्रनगरदेखि करीब ९ किमी उत्तरमा उक्त होटल सञ्चालनमा रहेको छ । त्यस्तै, रू.४ करोड ८५ लाखको लागतमा विसं २०७४ सालदेखि चर्चित पर्यटकीयस्थल बुलबुले उद्यानको प्रवेशद्वार नजिकै बुलबुले भ्यू होटल सञ्चालनमा आएको छ ।

होटलका सञ्चालकसमेत रहेका होटल व्यावसायी महासंघका केन्दीय सदस्य एवं सुर्खेत होटल व्यावसायी संघका महासचिव जनकसिंह ठकुरीले प्रदेशस्तरीय कार्यक्रमहरु, रारा जाने पर्यटक र अर्गानिक खानालाई मुख्य आधार बनाएको बताए ।

प्रदेश सरकारले होटल व्यवसायलाई हेर्ने दृष्टिकोणमा फरक आउने हो भने यसक्षेत्रमा होटल व्यवसायको भविष्य उज्जवल रहेको उनको भनाइ छ ।

सुर्खेतमा साना–ठूला गरी १ हजार ५०० ओटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा छन् । होटल व्यावसायी संघ सुर्खेतमा आवद्धमध्ये नौ ओटा होटल–रेष्टुरेन्टलाई स्तरीय भनी वर्गीकरण गरिएको छ ।

जसमध्ये होटल भ्याली भ्यू, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यू होटल, होटल ए।याम प्लाजा, चकटी लाउन्ज र सिद्धार्थ शनी रिसोर्ट ‘क’ श्रेणीमा छन् । त्यस्तै, ५६ वटा होटल तथा रेष्टुरेन्ट ‘ख’ श्रेणीका छन् ।

जसमध्ये सम्राट गेष्ट हाउस, पुरानो माछापुच्छ्रे होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लज लगायतका छन् । बाँकी १ हजार ३७९ ओटा होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा रहेको होटल व्यावसायी महासंघले बताएको छ ।

प्रकाशित मितिः     २९ माघ २०७६, बुधबार १७:५५  |