काँग्रेस महामन्त्रीले नेपालगन्ज हुँदै लखनउ पुगेर आदित्यनाथ भेटे


तस्विर : डिपी उपाध्यायको फेसबुक पेजबाट

नेपालगन्ज १ फागुण – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुधवार भेटेका छन् । नेपालगन्ज हुँदै लखनउ पुगेका कोइराला सहित नेता मिनेन्द्र रिजाल, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले कट्टर हिन्दुवादी नेताको छवि बनाएका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका हुन ।

नेपालसंग निकट मानिने योगीले यहाँ राजा सहितको हिन्दू राज्य हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । काँग्रेसभित्र हिन्दु राज्यको मुद्दालाई जनमत संग्रहबाट टुङ्गग्याउनुपर्ने बताउँदै आएका महामन्त्री कोइरालाको भेट आदित्यनाथसंग हुनुलाई अर्थपूर्ण मानिएको छ ।

यद्यपी यो भेट राजनीतिक प्रेरित थियो वा सामान्य शिष्टाचार मात्र हो भन्ने खुलेको छैन् । बुद्ध एयरको जहाजबाट महामन्त्री कोइराला लगायतका नेता माघ २८ गते आएको तरुण दल बाँकेका सह-सचिव बिमल चन्दले बताए । चन्दका अनुसार, विमानस्थलमा पुगेका कार्यकर्तासंग भेटघाट गरी सिधै उनीहरु लखनउ गएका थिए ।

योगीसंगको भेटघाटका लागि यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगन्जको बाटो प्रयोग गरेका थिए । यहाँबाट लखनउ पुगेका पूर्वराजाले त्यहाँका मुख्यमन्त्रीसंग भेटेको विषयले राजनीतिक बृत्तमा निकै चर्चा कमाएको थियो । पूर्वराजालाई मुख्यमन्त्रीले कुम्भ मेलाको पुस्तक दिएका थिए भने महामन्त्री कोइराला लगायत नेताहरुलाई यसपटक पनि कुनै धार्मिक पुस्तक दिएका छन् ।

नेपालगन्ज विमानस्थलमा महामन्त्री कोइरालाको स्वागत गरिदै । तस्विर : जयनारायण शाहको फेसबुक पेजबाट

भारतको सबैभन्दा ठूलो राज्यका रुपमा रहेको उत्तर प्रदेशको राजधानी लखनउ पुग्न सबैभन्दा नजिक बाटो नेपालगन्ज नै हो । चारलेन सडकबाट तीन घण्टाभित्र लखनउ पुग्न सकिन्छ । सोही कारणले पनि धेरै राजनीज्ञिहरु लखनउमा पुगे राजनितिक वा अन्य उपचारको कामका लागि नेपालगन्जको बाटो प्रयोग गर्छन ।

लखनउको सत्तासंग भेट गर्न पूर्वराजादेखि नेतासम्मले नेपालगन्जको बाटो प्रयोग गर्ने गरेका छन् । राजनीतिलाई अलग्याएर हेर्ने हो भने यसले नेपालगन्ज–लखनउ (भारतको सबैभन्दा ठुलो राज्यको राजधानी) बीच रहेको ऐतिहासिक ‘कनेक्टिभिटी’ लाई झल्काउँछ ।

प्रकाशित मितिः     १ फाल्गुन २०७६, बिहीबार ११:३८  |