नेपालगञ्ज- नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सेवाग्राहीको सुविधाका लागि एउटै ठाँउबाट आफ्नो सेवा प्रवाह थालेकोछ।
विभिन्न सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि फाँट- फाँट पुग्दै आउनु परेको झंझटको अब अन्त गर्दै सो एकद्वार प्रणालीबाट नै वितरण केन्द्रले त्यसरी अब आफ्नो सेवा प्रवाह थालेको हो।अब सेवाग्राही एउटै ठाउँबाट सेवा पाउने सो नयाँ व्यवस्था ल्याएको हो। त्यसका लागि नेविप्रा प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले एक कार्यक्रमबीच विहिवार सो नेपालगंज वितरण केन्द्रमा सो एकद्वार प्रणालीको औपचारिक उद्घाटन गर्नुभएकोछ।
पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणमा संस्थागत धेरै सुधार आइसकेको उल्लेख गर्दै डिभिजन प्रमुख ठाकुरले अब विद्युत प्राधिकरण आफ्नो ग्राहकमैत्री सेवाप्रवाहमा अगाडि बढेको बताउनुभयो। सेवा लिन ग्राहक हैन,अब सेवा दिन कर्मचारी स्वयम् फाँटहरुमा गएर कार्य सम्पादनमा सहयोग गर्नेछन् – डिभिजन प्रमुख ठाकुरले भन्नुभयो- “छिटोछरितो सेवा दिएर सेवाग्राहीको मुहारमा खुसी छर्नुछ।”
सो अवसरमा नेपालगन्ज वितरण केन्द्रप्रमुख लखनलला मल्लिकले आजदेखि सेवाका लागि ग्राहकहरुको फाँट- फाँट दगुर्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो। ५५ हजार बढी विद्युत सेवाग्राही भएको नेपालगन्ज वितरण केन्द्रमा दिनहुँ सयौँ ग्राहकहरु आउने गरेका छन् ।
विद्युत महसुल बाहेकका अन्य सेवाका लागि सो एकद्वार प्रणालीबाटै सहजरुपमा काम हुने जनाइएकोछ। ग्राहकहरु सुरुमा एकद्वार कक्षमा आउनु हुनेछ , र त्यहीँ मार्फत उहाँहरुको काम सम्पादन हुने नेपालगंज वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत श्याम पौडेलले बताउनु भयो। एकद्वार सेवाका लागि सुरुमा छुट्टै ३ जना कर्मचारीहरु खटाइको पनि उहाँले जानकारी दिनुभएकोछ।