खजुरामा बन्ने ‘कोल्ड स्टोर’मा १५ सय मेट्रिक टन कृषि उपज भण्डारण हुने, लागत रु ९ करोड


  • खम्वप्रसाद पुन

नेपालगन्ज, २ फागुन – बाँकेको खजुरा गाउँपालिकाले अघि सारेको गौरवको योजना शित भण्डारको शिलन्यास भएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शित भण्डारको ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिधिवत रुपमा शिलन्यास गरेकी हुन् ।

प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भैसकेको छ ।

शित भण्डारको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले खजुराका किसानले तरकारी उत्पादन गर्ने देखि कृषकहरु सबैको सहभागितामा शित भण्डार निर्माण गर्न लागिएकोमा यस कार्यको स्रहाना ब्यक्त गरिन् । उनले निर्माण हुन लागेको शित भण्डारले यस क्षेत्रका किसानहरुलाई उत्साहित गरेको भन्दै खजुरा गाउँपालिकाले अघि सारेको खजुरा क्षेत्रलाई कृषि हब बनाउने उद्देश्यलाई टेवा पुग्ने बताईन् ।

खजुरा गाउँपालिकाको गौरवको योजना मध्ये शित भण्डार पनि रहेको बताउदै यस योजनालाई ५ नं प्रदेश सरकारले गाउँपालिकाको खातामा ५ करोड रकम पठाईसकेको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनले ९ करोडको योजना भएको भन्दै गाउँपालिकाले नयाँ निति बनाई ब्यबस्थापन र सञ्चालन गर्ने बिधिमा अगाडी बढेको बताए ।

बाँकी ४ करोड रकमको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका कृयाशिल सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको प्रमुख पक्षपतिले बताए । पहिलो चरणमा २ करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र स्टक्चर आगामी बैशाख सम्म निर्माण गरिने खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिए ।

उनले शित भण्डारको निर्माण पछि सञ्चालन र ब्यबस्थापन गर्ने जिम्मा सहकारी सञ्जालले गर्ने बताउदै अनुगमन र नियमन खजुरा गाउँपालिकाले गर्ने बताए । खजुरा गाउँपालिकामा निर्माण हन लागेको शित भण्डारको निर्माण प्यारामाउण्ट कन्स्ट्रक्सन ललितपुरले गर्ने जनाईएको छ ।

प्रकाशित मितिः     10:48:39 AM  |