बाँके ६ फागुन – हिन्दूहरुको आस्थाको केन्द्र मानसरोवरको प्रतिक सहित बाँकेको बैजनाथ गाउँपालिका ६ मा बोटानिकल गार्डेनको सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेका छन् ।
न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क प्रदेश सरकारको प्राथमिकताको योजना भएको मुख्यमन्त्री पोख्रेलले बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्ध हुनुपर्ने बताए । स्थानियहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने मुख्यमन्त्रीको भनाई थियो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले यो स्थानलाई बोटानिकल पार्क बनाउनका लागि ठाउँ छनौट गरि काम पनि शुरु गरिसकेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको बताए । उनले यो योजनाको लागि आवश्यक परे आर्थिक देखि सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६र७७ को वार्षिक बजेट कार्यक्रम अन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगन्ज सङ्ग १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँमा २०७६ पौष २४ गते सम्झौता भइ २०७७ असार २५ गते सम्म निर्माण सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल अधिकृत मोहन श्रेष्ठले बताए ।