नेपालगन्ज ६ फागुन – प्रदेश नं. ५ उद्योग, पर्यटन र कृषि क्षेत्रमा देशकै प्रमुख गन्तव्य बन्ने दौडमा छ । ठूला लगानीकर्ता आगमनले उद्योगको संख्यामा उल्लेखिय बृद्धि भएको छ । प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिक्षेत्रको विकासको नीति अख्तियार गरेकाले पनि लगानीकर्तालाई लगानी गर्ने वातावरण निर्माण गरेको व्यवसायीहरु बताउँछन् ।
प्रदेश सरकारले थप ठूला लगानीकर्ता आकृषित गर्न बैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा गरिरहेको छ । मुख्यमन्त्री शंकर पोख्रेलकै शब्दमा यो मिनि नेपाल हो र देशको आर्थिक बृद्धिमा उदाहरणीय बन्ने दौडमा छ । मुख्यमन्त्री पोख्रेलले लगानीको उचित वातावरण निर्माण गर्न हरसम्भव प्रयत्न भएको बताउनुभएको छ । आगामी दिनमा त्यसलाई अझ सहज बनाउने गरी काम भइरहेका छन् । । बैंक तथा वित्तीय संस्थाहरु हरेक स्थानीय तहमा पुग्ने एक मात्र प्रदेश भएका कारण पनि यहाँ आर्थिक गतिविधि चलायामान बन्दै गएको पुष्टि हुन्छ ।
प्रदेश ५ मा ठूला उद्योगको संख्या करिव ९ सय पुगेको छ । यसबाट करिव ४८ हजार ५ सय जनालाई रोजगारी प्राप्त भएको प्रदेश नं.५ का प्रमुख सचिव तोया ज्ञवालीले बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष वर्षको अवसरमा ज्ञवालीले सार्वजनिक गरेको तथ्यांक अनुसार, यस प्रदेशमा पूर्ण, तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका उल्लेख्य क्षेत्रहरु यो प्रदेशमा रहेका छन् । पूर्ण, तुलनात्मक र प्रतिस्पर्धि लाभ नै लगानी, उद्योग र व्यापारका सैद्धान्तिक आधारहरु हुन । करिव २८,००० को संख्यामा घरेलु तथा साना उद्योगहरु छन् ।
बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवल स्थित औद्योगिक क्षेत्रमा ९२ उद्योग सञ्चालनमा छन् । रुपन्देहीको मोतिपुर, दाडको घोराही र बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माण योजनामा रहेको छ । यो प्रदेशको भैरहवामा नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र समेत स्थापना भै संचालनमा आएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार यस प्रदेशमा १,४७,८९२ वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् भने कूल व्यावसायिक प्रतिष्ठानको २६ प्रतिशत रुपन्देहीमा रहेका छन् ।
यस प्रदेशमा सिमेन्ट, क्लिंकर, जुत्ता, धागो, औषधि, कपडा, मदिरा, मैदा, चामल लगायतका उद्योगहरु संचालनमा छन् । सूचना प्रविधिको विकासको समेत यो प्रदेशमा विकास गर्न सकिने अनन्त संभावनाहरु छन् । यो प्रदेशका महत्वपूर्ण करिडोरले अनन्त संभावनाहरु अघि बढाएको अवस्था छ । बुटवल—भैरहवा आर्थिक करिडोर, परासी—भैरहवा औद्योगिक करिडोर, कोहलपुर—नेपालगन्ज औद्योगिक करिडोर र घोराही–तुल्सिपुर औद्योगिक करिडोर र चन्द्रौटा कृष्णनगर औद्यौगिक करिडोरहरुले समेत यो प्रदेशमा हुने लगानी र औद्यौगिक विकासमा उल्लेख्य रुपमा सघाउने विश्वास लिईएको छ ।
केही महत्वपूर्ण करिडोरहरुमा श्रम सर्भेक्षण समेत सम्पन्न भएको अवस्था छ । यो प्रदेशको भूगोल चारबटा प्रदेशका राजधानीमा दुई देखि तीन घण्टामा पुग्न सकिन्छ भने भारतको सवैभन्दा बढी जनसंख्या भएको प्रदेश सन् २०१९को प्रक्षेपण अनुसार २३ करोड उत्तर प्रदेश समेत जोडिएको छ । यहाँ उत्पादन भएका कृषिजन्य र औद्यौगिक उत्पादनहरु गौतम बुद्ध अन्तर्रा्िष्ट्रय विमानस्थलको संचालनपछि सहजै अन्तर्रा्िष्ट्रय बजारमा पुर्याउन सकिने हुन्छ ।
खानी तथा खनिजजन्यतर्फ यो प्रदेशमा १८ किसिमका धातु खनिज, १९ किसिमका अधातु खनिज, ७ किसिमका रत्न पत्थर, ३ किसिमका इन्धन खनिज, ७ किसिमका श्रृङ्गारिक खनिज लगायत निर्माणमा प्रयोग हुने ढुङ्गा, गिटी, वालुवा रहेका छन् । जस्तै चुन ढुङ्गा, कोइला, फलाम, सून, तामा, स्लेट, जिंक आदी । विभिन्न जिल्लामा विभिन्न प्रकारका खानीको लागि लाइसेन्स लिई खोजतलास र उत्खनन्को कार्य भइरहेको छ । साथै, यस प्रदेशमा ४८ प्रतिशत भन्दा बढी भूभाग वन जंगलले ओगटेको कारणले बनजन्य उद्योग र जडिबुटिको समेत पर्याप्त संभावना छन् । टिमुर, कुट्की, तेजपात, चिराईतो, सतुवा, सर्पगन्धा, सुगन्धवाल, यार्सागुम्वा, पाँचऔले र चिराउतो लगायतका जडिवुडीको पर्याप्त संभावना यहाँ रहेको छ ।
धार्मिक र पर्यापर्यटनको उच्च संभावना भएको प्रदेश हो यो । विश्वमै प्रसिद्ध शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी यस प्रदेशमा हुनुले विश्वभरका करिव ५३ करोड बौद्ध धर्मावलम्वीहरुको ध्यान आकर्षित गरेको छ । विश्वभर बुद्धका अनुयायीका लागि यो भन्दा पवित्र अर्को स्थान छैन । यो प्रदेशमा प्रसिद्ध बर्दिया राष्ट्रिय निकुन्ज, जगदिशपुर लगायतका विभिन्न ताल, विचित्र गुफा, शिव गुफा लगायतका गुफाहरु, एसियाकै ठूलो भनिने दांग उपत्यका, बुटवल, दांग र नेपालगन्ज लगायतका व्यापारिक केन्द्र, विभिन्न धार्मिक स्थल, मौलिक संस्कृति र सम्पदाका साथै विभिन्न मनोरम स्थानको कारणले पर्यटनका क्षेत्रमा अद्धितीय संभावना बोकेको प्रदेशको रुपमा रहेको छ ।
सन् २०१५ मा लुम्बिनीमा आन्तरिक र बाह्य गरि १५ लाख बढी पर्यटकले भ्रमण गरेको तथ्यबाट यस प्रदेशको पर्यटनको संभावना सहजै आकलन गर्न सकिन्छ । जमिनमुनी समेत ऐतिहासिक सम्पदा भएको प्रदेश हो यो । खासगरि नवलपरासी र कपिलवस्तुमा यस्ता सम्पदाको प्रर्याप्त संभावना रहेको छ । समयक्रममा सभ्यताभित्र ठूलो विनास भएको भूगोल र विश्व विख्यात बुद्धलाई जन्माउने भूगोल समेत यही छ । करिव १९०० वर्ष पहिले नै यस क्षेत्रमा ठूला पूर्वाधार र विकसित सभ्यताको विकास भएको पाईन्छ ।
पर्यटनका हिसावले बौद्ध धर्मावलम्वीको लागि लुम्विनीको जस्तो संसारका अन्य कुनै ठाँउमा छैन । पाणिनी यही प्रदेशका हुन भने पतन्जलीले समेत यहा तपस्या गरेको मानिएको छ । पवित्र नदिको रुपमा रहेको काली गण्डकी र सो नदीमा आधारित महत्वपूर्ण केन्द्र सेतिवेणी, रुद्रवेणी, रुरु, रानीमहल, राम्दीले यो प्रदेशको थप सौन्दर्यिकरण गरका छन् । भारतीय धार्मिक पर्यटकको प्रमुख गन्तव्य मध्ये एक स्वर्गद्धारी रहेको
छ ।
काली गण्डकी सिमा नदी भएर वग्ने यो प्रदेशमा पूथा, सिस्ने र जलजलाजस्ता महत्वपूर्ण हिमालहरु, दक्षिणि सिमाबाट करिव १ घन्टामै चिसो ठाउमा पुग्न सकिने निकै आकर्षक भूगोलले पर्यटनका थप संभावना समेत देखिएका छन् । पर्यटन प्रवर्धन र लगानी प्रवर्धन एक सिक्काका दुई पक्षहरु हुन । गुणस्तरीय पर्यटन पूर्वाधारहरुको लागि लगानी पूर्वशर्त हो । आन्तरिक लगानी प्रवर्धन हुन सकेन भने बाह्य लगानी समेत आकर्षित हुन सक्दैन । लगानीका लागि परियोजना बैक तयार गर्ने र लगानी सम्मेलनमा परियोजनाहरुको विस्तृत प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।
एक सफल परियोजनाले अन्य परियोजनाहरुलाई आकर्षित गर्दछ । उदाहरणको रुपमा एक सफल हिल स्टेशनले केवल कार, होटल, ट्राभल, होम स्टे लगायतका परियोजनाको आधार सृजना गर्दछ । यो प्रदेशमा प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधताले गर्दा पर्यटन उद्योगको मुख्य केन्द्र बन्ने पर्याप्त आधारहरु रहेका छन् । गरिवी र असमानतालाई संबोधन गर्ने उद्धेश्यले आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाहरुका घर परिवार र व्यक्तिहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, र अन्य आय आर्जनका अवसर तथा सामाजिक संरक्षणका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
पूर्वाधार विकासमा पछिल्ला दुई वर्षमा महत्वपूर्ण काम गरिएको ज्ञवालीले बताए । गुणस्तरीय पूर्वाधार सम्बृद्धिको मूल आधार हो । विकास र संमृद्धिमा पूर्वाधार विकासको ठूलो योगदान रहेको छ । यातायात पूर्वाधारहरुलाई गुणात्मक रुपमा विकास गर्नुपर्ने अवस्था छ । प्रदेशको पूर्वाधार विकासको मेरुदण्डको रुपमा रहेको गौतम बुद्ध अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण कार्य करिव ९० प्रतिशत सकिएको छ ।
यो प्रदेशमा ठूला जलविद्युत आयोजनाबाट २९७५ मेगावाट विद्युत उत्पादन सम्भव भएपनि हालसम्म ३६ मेगावाट उत्पादन भएको र थप उत्पादनको प्रर्याप्त संभावनाहरु छन् । नौमुरे बहुउद्धेश्यिय ९उर्जा, सिचाई, पर्यटन आयोजनाबाट मात्र ३८८ मेगावाट विद्युत निकाल्न सकिने साथै यो प्रदेशमा सौर्यउर्जाको समेत निकै संभावना रहेको छ । कृषि, उद्योग र पर्यटन तथा सौर्य उर्जासमेतको क्षेत्रमा ठोस कार्यक्रमसहित जग्गा बाहेक कम्तिमा १ अरव रुपिया लगानी गर्ने उद्योगलाई पहुचमार्ग बनाउने नीति प्रदेश सरकारले लिएको छ ।
यस प्रदेशमा बवई सिचाई, सिक्टा सिचाई, गौतम बुद्ध अन्तर्रा्िष्ट्रय विमानस्थल र लुम्बिनी क्षेत्र विकास कोष गरि ४ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् भने यस प्रदेशसंग जोडिएर सञ्चालनमा रहेका अन्य ६ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् । ४३५ किलो मिटरको चीन र भारत जोड्ने उत्तर दक्षिण (काली गण्डकी) करिडोर तथा पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको निर्माणले प्रदेशको विद्यमान यातायात सञ्जालमा ल्याउने उल्लेख्य परिवर्तनले यो प्रदेशको समृद्धिको अभियानमा विशेष टेवा पुग्नेछ । प्रदेश स्थापनाको दुई वर्षमा यो प्रदेशमा २७५ कि.मि. कालोपत्रे सडक र २९८ कि. मि. ग्राभेल सडक निर्माण भएको छ ।
यो प्रदेशमा वित्तिय पूर्वाधारको पनि तिव्ररुपमा विकास भई सकेको छ । औषतमा एक बैंक वा वित्तीय संस्थाले करिव ६,००० जनालाई सुविधा पु¥याएको अवस्था छ । यो प्रदेशका मुख्य भन्सार नाकाहरु, व्यापारजन्य पूर्वाधारहरु, व्यावसायिक आवास तथा भवनले गर्दा समेत औद्यौगिक विकासका थप संभावनाहरु देखिएका छन् । यो प्रदेशका ५४ वटा सिमेन्ट उद्योग दर्ता भएका छन भने नेपालमा संचालित सिमेन्ट उद्योगमध्ये करिव ५० प्रतिशत उद्योगहरु यहा संचालनमा रहेका छन्, । गाडी एसेम्वल गर्ने उद्योगहरुको समेत यो प्रदेशमा संभावना रहेको छ । आर्थिक उपयोग न्यून भएका पहाडबाट बन र वातावरणीय प्रभाव न्यून गर्दै कच्चा पदार्थ उत्खनन गर्ने बिषयमा समेत परामर्श अघि बढेको छ ।
निजी क्षेत्रले सक्षमतापूर्वक गर्न सक्ने परियोजनामा सार्वजनिक निजी साझेदारीमा जान सकिने विषयलाई समेत प्रदेशले अघि बढाएको छ । समय, प्रकृया, लागत, प्रविधि, गुणस्तर, व्यवस्थापन, दीगोपना र नतिजामा उल्लेख्य सुधार हुने क्षेत्रमा यो अवधारणामा जान सकिन्छ । आर्थिक—राजनैतिक कारण, वित्तीय कारण, व्यवस्थापकीय कारण र अन्य कारणले यो अवधारणा केही छिमेकी र अन्य देशहरुमा उल्लेख्य रुपमा सफल भएको छ । तर यसको पूर्वशर्त के हो भने लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता नभएसम्म निजी क्षेत्र आकर्षित नहुन सक्छ ।
यस प्रदेशमा ११,००० कि. मि. सडक निर्माण भएको, सवै १२ जिल्लामा सडक सञ्जाल विस्तार भएको, करिव ९० प्रतिशत घरपरिवारलाई आधारभूत खानेपानी सुविधा पुगेको, करिव ८१ प्रतिशत जनसंख्यालाई विद्युत सेवा र ५० प्रतिशत भन्दा बढी कृषियोग्य भूमिमा सिचाई सुविधा पुगेको छ । टेलिफोन घनत्व १३४ प्रतिशत र ५५ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा पुगेको छ । आर्थिक विकासमा समेत आम सञ्चारको प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । यस प्रदेशमा आम सञ्चारको माध्यमका रुपमा रहेका रेडियो, टि।भि।, पत्रपत्रिकाको विस्तार उल्लेख्य रुपमा रहेको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकाको पहुँचको हिसावले यो प्रदेश सवल अवस्थामा छ । निष्कर्षमा यो प्रदेशको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकास नै हो । यो प्रदेशको विकासले नेपालकै समग्र विकासमा सघाउने खालको भूगोल र अवस्थिति यो प्रदेशमा रहेको छ ।