नेपालगन्ज ६ फागुन – बाईपासबाट बस आउने जाने व्यवस्था गर्दा पुष्पलालचोक क्षेत्रको व्यवसाय सुक्दै गएको त्यहाँका व्यवसायीले दुःखेसो पोखेका छन् । सडक जाम नहोस् भनेर नेपालगन्ज उपमहानगरपालिकाले बसपार्कबाट बाईपास सडक हुँदै बस आउने जाने व्यवस्था गरेको थियो ।
त्यसरी बाईपासबाट बस सन्चालन गर्दा पुष्पलालचोकका होटल र अन्य व्यवसायमा सेवाग्राही जान छाडेका छन् । बसपार्कलाई मध्यनजर गर्दै पुष्पलालचोकमा धेरै होटल सन्चालनमा छन् । बसपार्कमा आउने जाने यात्रुमै निर्भर होटल यतिबेला सुक्ने अवस्थामा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतको नयाँ पदाधिकारीसंग पुष्पलालचोकका व्यवसायीले आफ्ना गुनासा सुनाएका छन् । त्यसक्षेत्रका व्यवसायीका दुःखेसोका बारेमा मन्सुरीले नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा, उपमेयर उमा थापामगरलाई सुनाउँदै सम्बोधनको लागि आग्रह गरेका छन् ।