नेपालगन्ज ७ फागुन – नेपालगन्जका उद्योग भारतीय कामदारले भरिएका छन्। रोजगारको अभाव भन्दै दैनिक सयौं व्यक्ति भारत र खाडीमुलुक गइरहेका बेला नेपालगन्जका उद्योगमा भने नेपाली कामदारको अभाव रहेको छ ।
पाँँच सय कामदारलाई परिचालन गरिरहेका नेपालगन्जका एक उद्योगीले चाहेर पनि नेपाली कामदार नपाएको गुनासो गर्नुभयो ।‘बढी पैसा दिन्छु भन्दा पनि नेपाली कामदार पाइदैन ।’ नेपालगन्ज औद्योगिक क्षेत्रभित्रका ती उद्योगी थप्नुभयो– ‘बाध्यताले भारतीय कामदार राखेका छौं ।’
नेपाली कामदारहरू उद्योगमा आइहाले पनि कि राजनीतिक गर्ने त्रासमा छन्, उद्योगीहरु । नेपाली कामदारहरू सीप सिकाएर अगाडि बढाउँदा पनि टिक्न नसकेको उद्योगीहरूको भनाइ छ । आफूले नै तीन सय बढीलाई सीप सिकाए पनि नटिकेको उद्योगीको दावी छ । ‘भारत तथा खाडी मुलुकमा गएर जे काम पनि गर्छन्, यहाँ त्यही काम गर्न लाज मान्छन, नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यको भनाइ थियो ।
नेपालगन्ज नाकाबाट दैनिक भारतीय बजारमा मजदुरी गर्न जानेको संख्या यकिन छैन। यस क्षेत्रकै मानिस यो नाका भएर भारतमा काम गर्न जान्छन्। चाडबाडका बेला दैनिक ३० हजार बढी मानिसहरू घर फर्किएको देख्दा चाहि भारतमा लाखौं नेपाली कामदार छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।
यसरी लर्को लगाएर भारत जाने नेपालीहरू नेपालगन्जका उद्योगमा किन काम गर्दैनन् ? जानकारहरू भन्छन, दक्ष र अदक्षका कुरा आउँछन् । सबैले दक्ष कामदार खोज्छन् । भारी बोक्न, सडक खन्न जानेहरू नेपालगन्ज उद्योगमा काम लाग्दैनन् । नेपालमै रोजगारी मिल्छ, भारतमा जति पैसा यही पाइन्छ भन्ने जानकारी पनि छैन । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको श्रम विभागले १४ वटै अञ्चलमा एक⁄एक वटा रोजगार सूचना केन्द्र स्थापना गरेर मजदुरलाई रोजगारदातासँग मिलाउने प्रयास गरे पनि त्यो त्यति उपलब्धिपूर्ण देखिएको छैन । यद्यपि, केन्द्रले पछिल्लो समयमा नेपालगन्जमा कति बेरोजगार छन, यहाँका उद्योगलाई कस्ता कर्मचारी चाहिएको छजस्ता कुरामा अलिकति चासो दिएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अधिकृत कुशलकुमार गुप्ताले सबैजसो उद्योगले अदक्ष जनशक्तिबाटै काम चलाएको बताउनुभयो। महासंघले केन्द्रसँग देशका विभिन्न ठाउँमा उद्योगहरूमा गई त्यहाँ भइरहेका र चाहिने कामदारका बारेमा अवलोकन गरिरहेको छ।