परिकारको स्वाद चाख्न पुग्नैपर्ने ठाउँ त्रिभुवनचोक


 

त्रिभुवन चोक अर्थात नेपालगन्जको सबैभन्दा पुरानो बजार । जो खानाका परिकारका लागि समेत परिचित छ । बिहान हलुवा, पराठा, चना, पुरी जस्ता शाकाहारी खाना पाइन्छ भने साँझ मांसहारी परिकारको स्वाद चाख्न पाइन्छ ।

अधिकांश नगरवासी उठिनसक्दै त्रिभुवन चोक सधैं जागा हुन्छ । बडेमानका पसल बन्द भएसँगै सुरु हुन्छ, ठेलाको व्यापार । जब साँझ पर्न थाल्छ, त्रिभुवन चोकमा चाटका ठेला लामबद्ध भइसकेका हुन्छन । अझ गर्मी मौसममा रातको ११ बजेसम्म पनि त्रिभुवन चोक जागा नै हुन्छ । पुस्ता दर पुस्ता धान्दै आएका आधा दर्जनभन्दा बढी चाट पसल छैनन् तर तिनले वर्षौदेखि एउटै स्वाद पस्किरहेका छन् ।

आजभोलि चाट त जहाँसुकै पाइन्छ तर नेपालगञ्जमा वर्षौदेखि त्रिभुवन चोकमा बेचिने चाटको छुट्टै स्वाद भएको पारखीहरु बताउँछन् । त्यसैले त यहाँ पुग्ने जोकोहीले चाटको एकपटक भए पनि स्वाद लिएकै हुन्छ नेपालगन्जको चाटमा जादु छ, चाटका पारखी नेपालगन्जमा आउँदा त्रिभुवन चोक पुगेकै हुन्छन् ।

दूधबाट धेरै परिकार बन्छन् । त्यसमध्ये एक हो, रावडी । त्रिभुवन चोकको रावडी राजधानी लगायत देशका धेरै ठाउँमा कोसेलीको रुपमा पनि पुग्छ । चोक चोकका साथैै पसलहरुमा रावडी प्रसिद्ध छ । पुस्तौनी व्यापार यही गुणस्तरकैै कारण अहिलेसम्म पनि चम्किरहेको छ ।त्रिभुवन चोक आसपास आधा किलोमिटरको दूरीमा झण्डै एक दर्जनभन्दा बढी स्थानमा रावडी पाइन्छ । भन्छन्, ‘त्रिभुवन चोकमा ग्राहक न घटेका छन्, नबढेका छन् । उस्तै छन् ।’ मिठाइमा रुची राख्ने जो कोहीका लागि रावडी स्वादिलो परिकार बन्न सक्छ ।

सन् १८६० मा जंग बहादुरले ब्रिटिश इन्डियाबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएपछि बाँकेमा बाँकी किल्लाको प्रशासन अन्तरगत आवादी योग्य जमिनहरु पहिल्यै देखि तुलसीपुर स्टेटका रैयतहरुले रस्ती बस्ती कायम गरी जिमिदारी समेत जोडेकाले बर्दिया र पश्चिम जिल्लाका भु–भाग आफ्ना आठभाई छोरा र १७ भाई, भाइहरुका नाममा वितरण गरेका थिए । र, जग्गा आवाद गर्ने अधिकार समेत दिएका थिए । त्यति बेला तराईका यी भु भाग पुरै जंगल थियो । बाँकेमा पनि थोरै मात्र जग्गा आवाद थियो र बाँकी भु भाग जंगलै थियो ।

जंग बहादुरले पहिल्यैदेखि बसिआएमा जमिन्दारहरुलाई आ–आफ्नो जग्गा कमाई खाने गरी बाँकी सबै जंगलहरुबाट आयस्ता उठाई सरकारलाई तिनै गरी यो बाँके जिल्ला, सल्यान गैडाका बडाहाकिम क–लो बहादुर थापालाई ठेक्कामा दिएका थिए भने यस जग्गामा एउटा सहर बसाउने बारेमा प्रतिवेदन दिन सुब्बा सिद्दिमान राज भण्डारीलाई त्यतातिर पठाएका थिए । सिद्दिमान राजभण्डारीको जाहेरी पछि जंग बहादुर आफुले फिर्ता गरेको जमिनमा नयाँ सहर निर्माण गर्न र त्यसको व्यवस्था मिलाउन पद्यनाभ जोशीलाई खटाइ पठाएका थिए ।

पद्यनाभ जोशीले नेपालगन्ज बजार बसाउन तयारी गरे भने उता लोक बहादुर थापाले भारतीय रेल्वे बिस्तारका लागि आवश्यक काठ र काठ निकासीका लागि काठमहलको निर्माण गराए । यता पद्यनाभ जोशीले बाँकी किल्लालाई भूल आधार मानी त्यसकै दक्षिण पट्टि हालको त्रिवेणीचोक देखि दक्षिण तर्फ माझमा १०८ फिटको सडकको दायाँबायाँ गरी एक लाइन घरहरु निर्माण गर्न थाले । यो सदरलाइनका घरहरु दक्षिणमा हाल ओमकार मल खेतानको घरसम्म मात्र थियो ।

अहिले त्रिभुवन चोक भएका ठाउँमा प्रशस्त चौडायी भएको चोकलाई चार बाटो बनाइ चोक पूर्व लाइन भनेर पूर्वतर्फ हाल पत्रकार पन्नलाल गुप्ताज्यूको घरसम्म र चोक पश्चिम लाइन, इदगाहरोड (नगरपालिका जाने बाटो)को माझमा पर्ने निमको बोटसम्म, झिंगटीवाल पसल कबल सहितका घरहरु निर्माण गराएर नेपालगन्ज बजार बनाए । त्यसै समयदेखि चोक बजार यस सहर मुटु भएको थियो ।

यस चोकको माझ भागमा एउटा चारपाटे, दुई तले घर ठड्याइयो । ठिक अहिलेको शालिक भएको ठाउँमा । नेपालगन्जमा व्यापार गर्न आउने ठूला महाजनहरुलाई त्रिभुवन चोक र त्रिभुवन चोककै ओरीपरिका घरहरु दिए । जसले गर्दा चोक बजार गुलजार रहन्थ्यो ।

चोक बजारको पूर्वपट्टी डिभाइडर जस्तै गरेर माझमा तरकारी पसलहरु बनाइयो । दुवै पट्टिको सडकबाट तरकारी किन्न सकिने गरी काठका खाँवा र खरले छाएका तरकारी मण्डी थियो । बिस्तारै व्यापारीहरु बस्दै बस्दै बढ्दै गयो । व्यापार निकासीको व्यवस्थापन हुँदै गयो । अनि चोक बजारको माझमा बनेको चारपाटे घर माथिको तल्लामा भन्सार अड्डा खोलियो । सो भन्सार अड्डाको भन्सार पनि ठेक्कैमा थियो ।

चोक बजारको उत्तर र पश्चिम तर्फ स–साना पसलेहरुको बिसाती दैनिक पसल सडकमै थाप्दथे । जहाँ खाजा, सातु, चना, भुजा (मुढी) र दही बेचिन्थ्यो । चोक पश्चिम पट्टि ठूल्ठूला कडाही (लोहाको) हरुमा दुई चार मन घिउ पगाल्ने र घिउलाई प्रशोधन गरी टिनमा प्याक गरेर राख्ने काम पनि सडकमै सम्पन्न हुन्थे । कुनै वाहनहरु थिएनन् । घोडा र तांगाहरु पनि थोरै मात्रामा थिए । नेपालगन्जको बस्ती विकाससँगै नयाँ, नयाँ टोलहरु बस्दै गए । बन्द व्यापारहरु बढ्दै गए । स्कुल, पाठशाला खुल्दै गए । नयाँ नयाँ अफिसहरु बन्दै गए । बनाउने अड्डा, गोश्वारा, माल, अमिनि अड्डा आदी खुल्दै गए । अनि चोक बजारको रौनक झन् बढ्दै गयो ।

त्यतिबेला मनोरञ्जनको कुनै साधन नभएको बेलामा यहाँका नागरिकहरु चोक बजारका कुना, कुनामा मेला हुन्थ्यो । घिउ, सुठो प्रशोधनको तरिका हेर्दै खाजा पसलमा खाना खाने गर्दथे । नेपालगन्जलाई बजार पूर्ण विकास नहुञ्जेल कहिले दैलेख गौंडा त कहिले सल्यान गौंडाले हेर्ने गर्दथे । नेपालगन्ज बजार बस्ने बेलामा यो सल्यान गांैडाले हेर्ने गर्दथ्यो ।

यता नेपालगन्ज बजार व्यवस्थित हुँदै थियो भने बर्दिया कैलाली, कञ्चनपुर तिर नेपालगन्जको खसियारी बजार जस्तै सिजनल मन्डी बिस्तार हुँदै थियो । त्यतिबेला बर्दियाको राजापुर मन्डी र महेन्द्रनगरको ब्रह्मदेव मण्डी व्यापारीक केन्द्र बन्ने तरखरमा थिए । यी सबैलाई व्यवस्थित न गर्न दैलेख वा सल्यानले नसक्ने भएपछि व्यवस्थापनका लागि वा.व.गो (बाँके, बर्दिया गोश्वारा) खडा गरि बडा हाकिमले यही बस्ने व्यवस्था गरियो र श्री ३ सरकारका प्रतिनिधि भएर बडाहाकिम नेपालगन्ज बस्ने थाले ।

चोक बजारको रौनक बढ्न थालेको थियो । चोक बजारको दक्षिण तर्फ बीच सडकमै मन्दिरहरु निर्माण भए । र, नित्य पुजाआजाको क्रम बढे । विहान ४ बजे बागेश्वरीको डंका बज्न थालेपछि चोक बजारमा पनि चहलपहल बढ्न थालेको हुन्थ्यो । चोक बजारका मन्दिरहरुमा घण्टा, घडियाल बढ्न थाल्यो । भक्तजनहरु मन्दिरमा जम्मा हुने अनि रामायण पाठ ब्रम्हानन्दको भजन र किर्तनहरुले चोक बजारमा गुञ्जायमान हुन्थ्ये । बिहानको ७ बजेपछि चोक बजारको तरकारी बजार सक्रिय हुन्थे । सडक खाजा घरहरु खुल्न थाले । चोकको पूर्वी किनारमा भुजा, बतासा, खुरिया, चना र सालुहरु पाइन्थ्यो । त्यतिबेलाको खाजा त्यही थियो । १० बजे तिर अफिस जाने कर्मचारीहरु एकछिन भएपनि चोक बजारमा उभिएर अनिमात्र अफिस जान्थे । यसरी बनेको त्रिभुवनचोकको महत्व अहिले पनि उत्तिकै छ ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७६, बिहीबार ०८:११  |