काँचो इँटा क्षतीको प्रभाव : बाँकेका उद्योगीलाई माग धान्न मुस्किल


नेपालगन्ज ८ फागुन – उत्पादनको समयमा पानीले झण्डै चार करोड इँटामा क्षती पुग्यो । जसका कारण बाँकेका इँटा उद्योगीहरुलाई यतिबेला इँटा पुर्याउन मुस्किल भइरहेको छ ।

बेमौसमी पानीले गर्दा काँचो इँटा नष्ट भएको नेपाल इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खाँ बताउँछन् । पूर्वाधार निर्माणको काम तिव्ररुपमा भइरहेका बेला इँटाको माग पनि अत्याधिक बढेको छ । तर प्राकृतिक प्रकोपका कारण काँचो इँटा नष्ट भएकाले माग पुरा गर्न धौधो भइरहेको खाँले जानकारी दिए ।

इँटा अभावमा घर निर्माणदेखि अन्य पूर्वाधारका काम समयमा सक्न समस्या हुने देखिएको छ । बाँकेका इँटा उद्योहरुले कर्णाली प्रदेश लगायतका ठाउँमा इँटा आपूर्ती गर्दै आएका छन् ।

इँटाको अभाव भए पनि मूल्यमा भने फरक नपर्ने खाँले बताए । उनका अनुसार, कच्चा पदार्थको मूल्य र मजदुरहरुको पारिश्रमिकका आधारमा इँटा मुल्य कायम गरिन्छ । अहिले अभाव हुँदैमा मुल्यमा केही फरक पर्दैन ।
विसं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा इँटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका इँटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको इँटाले सुर्खेतसम्म बजार लियो । भारतीय इँटा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोचाइ नेपालगञ्जवासीमा थियो तर, अब ती दिन एकादेशको कथाजस्तै भइसकेका छन् ।

एक दशकयता भारतीय इँटा बाँके भित्रिन छाडेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष खाँ बताउँछन् । ‘बाँकेकै उत्पादनले पुगेको छ, बाहिरबाट ल्याउनुपरेको छैन,’ अध्यक्ष खाँ भन्छन् । अहिले स्वदेशी इँटा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । इँटा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ ।

यहाँको इँटाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकांश निर्माणमा बाँकेको इँटा प्रयोग भएको छ । अध्यक्ष खाँ भन्छन् , ‘स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने उद्योगमा इँटा नै हो । हामीले कर्णालीलाई समेत धानेका छौं ।’ उनका अनुसार बाँकेबाट दैनिक ५० हजार भन्दा बढी इँटा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेमा ४२ उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करिब ८ करोड ईंटा उत्पादन गर्दैआएको अध्यक्ष खाँले बताए । यहाँ उत्पादन भएका इँटा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ प्रदेश नं ५ का उपाध्यक्ष देवबहादुर ओलीली बताउँछन् ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७६, बिहीबार १२:५६  |