बागेश्वरी मन्दिरमा आरती गर्ने योजना किन अगाडी बढ्न सकेन ?


नेपालगञ्ज ११ फागुन – पश्चिम नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा गंगा आरतीको झ-झल्को दिने गरी आरती शुरु गर्ने योजना कार्यान्वयन हुन सकेको छैन् ।

भ्रमण वर्ष २०२० को उद्घाटनको दिनबाट शुरु गर्ने गरी जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसंग छलफल चलाएको थियो । तर योजना बनेको दुई महिना बितिसक्दा समेत त्यसको कार्यान्वयनको बारेमा तै चुप मै चुप भइरहेको छ ।

गंगा आरतीका लागि जिल्ला स्तरीय पर्यटन प्रबद्र्धन समिति बाँकेले मन्दिर गुठी व्यवस्थापन समितिलाई पत्र नै लेखेर आरतीका लागि पहल गर्न आग्रह गरेको थियो । पत्र प्राप्त भएसंगै गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेपालगञ्जका मेयर धवल शम्सेर राणाले चासो प्रकट गरेका थिए ।

बागेश्वरी मन्दिरमा आरती शुरु गर्न सके धार्मिक पर्यटक बढ्ने आशा गरिएको छ । धेरै पहिलेदेखि आरतीको चासो प्रकट भए पनि औपचारिकरुपमा शुरु हुन सकेको छैन । मेयर राणा गंगा आरतीका लागि सकारात्मक छन् । तर बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती देखिन्छ ।

‘छलफल चलेको छ । हामी केही दिनमै यस विषयमा ठोस निर्णय लिन्छौ ।’ मेयर राणाले जनवरीमै अर्थपेजसंग प्रतिक्रिया दिदै भनेका थिए भने–‘शुरु गरेपछि लामो समयसम्म कसरी चलाइ राख्ने र त्यसको बजेटको व्यवस्थापनका बारेमा छलफल हुन्छ ।’

छलफलका क्रममा स्वस्फुर्तरुपमा आरती गराउन चाहानेलाई आग्रह गर्ने विषयमा पनि कुरा उठेको छ । कसैले चाहेमा गुठी व्यवस्थापन समितिले तोकेको समयमा आरती गर्न सक्ने व्यवस्था मिलाउने की भन्ने विषयमा छलफल चलेको छ । साथै प्रत्येक दिन नसके पनि हप्तामा एकदिन आरती गराउने सम्भावनाका बारेमा पनि आन्तरिक तयारी  भइरहेपनि काम अगाडी बढ्न सकेको छैन ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७६, आईतवार ०७:५२  |