सरकारी कार्यालय सरेको देख्ने, ठूला उद्योग आएको नदेख्ने !


प्रदेशको विभाजन पछि बाँके, बर्दिया प्रशासनिक र राजनीतिकरुपमा कमजोर बनेको सत्य हो । यहाँ रहेका कयौं सरकारी र गैरसरकारी कार्यालय बुटवल, सुर्खेत र धनगढी सर्दा मान्छेको ‘फ्लो ’ घटेको र त्यसले व्यापार, व्यवसायमा धक्का पुर्याएको महसुस गरिएको छ ।

सरकारी कार्यालय अन्यत्र सर्दा निरासा उत्पन्न भए पनि बाँके र बर्दियामा भित्रिएका ठूला लगानीका औद्योगिक कलकारखानाले उत्साह जगाउन थालेको छ । ठूला औद्योगिक घरानाले एकपछि अर्को उद्योग स्थापना गरिरहेका छन् । बर्दियामा सेवाक्षेत्रका ठूलो होटल र रेष्टुरेन्ट सन्चालनमा छन् भने चौधरी समूहको चाउचाउ उद्योग पहिलेदेखि नै छ । गोयन्का समूहले कालो चामलको उत्पादनका लागि कृषिक्षेत्रमा ठूलो लगानी भित्रा्उने चर्चा चलेको छ ।

इता बाँके त पहिलेदेखि नै ठूला उद्योगहरु भएको जिल्लामा पर्छ । यहाँ सेवाक्षेत्रमा पाँच तारे सहित दर्जन तारे होटल सन्चालनमा छन् । चार सयलाई रोजगारी दिने अनुमान गरिएको अम्बे समूहको छड जस्ता उद्योग सन्चालनले उत्साह थपेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले प्रशासनिक र राजनीतिक शक्ति कमजोर बनेको स्वीकार गर्दै भन्नुहुन्छ,–‘यसले कही न कहि असर पारेको छ । तर सरकारी कार्यालय अन्यत्र सरेर दुःख मनाउ गर्दै गर्दा यहाँ खुलेका ठूला उद्योग हेरेर पनि त उत्साहित हुनुपर्यो ।’

उद्योगकै कारण रोजगारी सिर्जना भएको छ भने त्यसले बाहिरबाट आउने मानिसको संख्यामा समेत बढोत्तरी गरेको छ । पश्चिमको आर्थिक हबका रुपमा स्थापित बाँके, बर्दियामा थप लगानीको सम्भावना रहेको महासचिव ओली बताउनुहुन्छ । प्रशासनिक केन्द्र नबन्दैमा त्यहाँ आर्थिक विकास नरोकिने भएकाले बाँके, बर्दिया निरास हुनुपर्ने कारण नभएको अर्थ बिज्ञ बताउनुहुन्छ ।

बिबिसीसंग कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्बर शर्मा स्थापित व्यापारिक केन्द्र राजधानी नभए पनि व्यापार तल नझर्ने बताउनुहुन्छ । ‘प्रशासनिक र व्यापारिक केन्द्र नै राजधानी हुनुपर्दैन । स्थापित व्यापारिक केन्द्र राजधानी नभए पनि व्यापार तल झर्दैन । त्यसलाई व्यापारिक केन्द्रको रूपमा विकसित हुन दिनुपर्छ ।’ –शर्माले भन्नुभयो ।

नेपालगन्जको आर्थिक बर्चस्वलाई कायम राख्न यस्तो छ योजना आयोगका पूर्व उपाध्यक्षको सुझाव

प्रकाशित मितिः     १२ फाल्गुन २०७६, सोमबार ०७:३०  |