मोडलिङ क्षेत्रमा रुची भएका युवायुवतीहरुलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा फेशन शो आयोजना गरिने भएको छ । ONS ग्रुप नेपालले आगामी चैत्र २२ गते ‘नेपालगन्ज फेशन शो’ आयोजना गर्ने जनाएको छ ।
मोफसलमा बिभिन्न समयमा संचालन गरीने फेसन शोबाट छनौट भएका मोडलहरुलाई थप अवसर प्रदान गर्ने उद्धेश्यले नेपालगन्ज फेशन शो आयोजना गर्न लागिएको oNS ग्रुपमा प्रमुख कृष्टल केसीले जानकारी दिए । सोमबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै केसीले सम्भवत जिल्लामै यो कार्यक्रम नौलो र पृथक भएको जिकिर गरे ।
फेशन शोमा १५/१५ जनाको दरले स्थानिय युवायुवतीहरुलाई छनौट गरी एक हप्तासम्म नि:शुल्क प्रशिक्षणको ब्यवस्था मिलाईने आयोजकले जनाएको छ । विशेषगरी नयाँ अनुहारलाई बढि प्राथमिकता दिईने फेशन शोमा एसइईई पास भएका जुनसुकै उमेर समुहका युवायुवतीहरुले सहभागीता जनाउन सक्ने छन ।
नयाँ र पुराना मोडलहरु समेतलाई उपयुक्त प्लेटफर्म प्रदान गर्ने उद्धेश्यले स्थानिय सुनाखरी रेष्टुरेन्टको हलमा आयोजना गरीने फेशन शोबाट स्थानिय मोडेलहरुको क्षमता र दक्षता उजागर गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।