आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको नेतृत्वमा निस्केको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगन्जमा रहेका ग्याँस बिक्रेता पसलहरुमा अनुगमन गरेको छ ।
सोमबार नेपालगन्जका पाँच वटा ग्याँस बिक्रेता पसलहरुमा अनुगमन गर्न पुगेको टोलीले गैर कानुनी रुपमा ग्याँसका साना सिलिन्डर बिक्री गर्ने तीनवटा पसललाई कारवाही गरिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
मापदण्ड अनुसारका १५.५ र १५.६ किलो खाली वजन भएका बजारमा पाईने सिलिन्डर भन्दा साना खालका खरिद बिल नभएका सिलिन्डरमा कानुन बिपरित ग्याँस बिक्री गर्ने अस्पताल लाईन बास्कोटा मार्केटमा रहेको निरज स्टोर, चारवाहिनी रोडमा रहेको अस्तिका ट्रेडर्स एण्ड सप्लायर्स र धम्बोझी खजुरा रोडमा रहेको शिवम मोवाईल सेन्टरलाई कारवाही गरिएको पौडेलले बताए । उनीहरुलाई जनही २० हजारका दरले जरिवाना गरिएको हो ।
अनुगमनकै क्रममा भेटिएका जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेलले मापदण्डमा तोकिएको भन्दा साना ग्याँस सिलिन्डर बिक्री गर्न र शिलवाला ग्याँस खोलेर अन्य खाली सिलिन्डरमा भरी बिक्रीवितरण गर्ने कार्य गैरकानुनी भएको बताए ।
अर्का अनुगमनकर्ता उपभोक्ता हित संरक्षण मंचका प्रभात सिंह ठकुरीले पहिला पहिला दशै र तिहार जस्ता ठुला चाडवाडमा मात्र हुने बजार अनुगमनले व्यापारीले अन्य दिनहरुमा मजासङ्ग कालोबजारी गर्ने र उपभोक्ता लुट्ने काम हुन्थ्यो तर अहिले यसरी नियमित बजार अनुगमनले व्यापारीहरु त्यसो गर्न नपाउने तथा उपभोक्ता पनि सचेत र जागरुक हुने हुँदा नियमित अनुगमन गरिएको बताए ।
संयुक्त अनुगमन टोलीमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेल, भुमिराम ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका रामसुरत चौधरी, उपभोक्ता हित संरक्षण मंचका प्रभात सिंह ठकुरी र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी ईन्चार्ज सुर्यबहादुर वोगटी रहेका थिए ।