बैजनाथमा प्रदेश सरकारका महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा


बाँके १३ फागुन – प्रदेश ५ सरकारले प्राथमिकता दिएका दुई वटा योजना कार्यान्वयनको चरणमा पुगेपछि बैजनाथ गाउँपालिकाका सर्बसाधारण हर्षित भएका छन् । नेपालगन्जदेखि झण्डै २० किलोमिटर उत्तरमा उक्त गाउँपालिका पर्छ । विकासका दृष्टिले पछि परेको गाउँपालिकामा ठूला योजना आएपछि स्थानीय खुःसी भएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए ।

केन्द्र सहित प्रदेश सरकारले बैजनाथमा रु ६ अर्ब रुपैयाँ लगानीमा औद्योगिक क्षेत्र प्रस्तावित गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेलले उक्त योजना कार्यान्वयनमा आइसकेपछि प्रदेश आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै आएका छन् ।

निर्माणाधीन औद्योगिक क्षेत्रमा तीन सय ३८ बिगा क्षेत्रफल छ । औद्योगिक क्षेत्रका लागि पाँच सय २५ बिघा क्षेत्रफल छुट्टाइएकामा एक सय ८७ बिघा जग्गा भने अतिक्रमण गरी झन्डै साढे दुई हजारदेखि तीन हजारको हाराहारीमा घरटहरा निर्माण गरिएका छन् । २०७२ को चैतमा सरकारले नौबस्तामा औद्योगिक क्षेत्र घोषणा गरेको हो ।

नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा १९ गुणा ठूलो क्षेत्रफलमा निर्माणाधीन यो औद्योगिक क्षेत्रमा पूर्वआशयपत्र पेस गर्ने उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचरलगायत छन्। औद्योगिक क्षेत्रले न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी उद्योगलाई जग्गा मात्र उपलब्ध गराउँदा भने छिटोमा दुई वर्षभित्रै औद्योगिक क्षेत्र सञ्चालन गर्न सकिने परियोजनाले जनाएको छ । तर योजना समयमै कार्यान्वयनमा आउन सकेको छैन ।

प्रदेश सरकारकै महत्वपूर्ण अर्को योजना हो, मानसरोवर पार्क । हिन्दूहरुको आस्थाको केन्द्र मानसरोवरको प्रतिक सहित बाँकेको बैजनाथ गाउँपालिका ६ मा बोटानिकल गार्डेन सहित मानसरोवर पार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरिसकेका छन् । न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क प्रदेश सरकारको प्राथमिकताको योजना भएको मुख्यमन्त्री पोख्रेलले बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्ध हुनुपर्ने बताए । स्थानियहरूको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने मुख्यमन्त्रीको भनाई थियो ।

बैजनाथ गाउँपालिका अध्यक्ष रुचालले प्रदेश सरकारले यो स्थानलाई बोटानिकल पार्क बनाउनका लागि ठाउँ छनौट गरि काम पनि शुरु गरिसकेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको बताए । उनले यो योजनाको लागि आवश्यक परे आर्थिक देखि सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६र७७ को वार्षिक बजेट कार्यक्रम अन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगन्ज सङ्ग १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँमा २०७६ पौष २४ गते सम्झौता भइ २०७७ असार २५ गते सम्म निर्माण सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल अधिकृत मोहन श्रेष्ठले बताए ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७६, मंगलवार ०८:२२  |