नेपालगञ्जमा आईतबारदेखि सुरु भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ ।
पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ३–१ सेटमा पराजित गरि विजयी सुरुवात गरेको हो । एपिएफले २३–२५, २७–२५, २५–१७ र २५–२३ को प्रतिष्पर्धात्मक सेटमा आर्मीलाई पराजित गरि विजयी सुरुवात गरेको हो । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सुरु भएको प्रतियोगिताको प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले प्रदेशलाई चिनाउनका लागि यसखालका खेलकुद आवश्यक भएको भन्दै सरकारबाट सक्दो सहयोग हुने बताउनुभयो । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लव, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपालगञ्ज, न्यू डायमण्ड र भारतीय टिम गरि ६ समूहको सहभागिता रहेको मुल आयोजक समितिका संयोजक प्रदेश सांसद कृष्ण केसीले जानकारी दिनुभयो ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेतालाई रु.दुई लाख, उपविजेतालाई रु. एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार नगद, ट्रफी र पदकले पुरस्कृत गरिने भएको छ । यसैगरी बिभिन्न विधामा उत्कृष्टलाई पनि नगदले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए ।
यसपटकको प्रतियोगितामा दक्षिण एशियाली अन्य देशबाट टोली सहभागी हुने निश्चित भएपनि कोरोना भाईरसका कारण अन्तिम समयमा सहभागी हुन नसकेको र विदेशी टोलीको रुपमा यसपटक भारतको एउटा समूह मात्रै सहभागी रहेको आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २२ सम्म संचालन हुनेछ ।